श्रीमान्‌को हत्या गरेपछि रगत लागेको चक्कु बोकेर प्रहरी कार्यालय पुगिन् ५० वर्षीया महिला

रुकुम पश्चिम । मुसीकोटस्थित जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम परिसरमा आइतबार साँझ ५ बजेतिर १ जना महिला रगत लागेको चक्कु बोकेर पुगिन् ।

प्रहरीले सोधी–खोजी गर्दा उनी मुसीकोट नगरपालिका–८, किटनीकी ५० वर्षीया डल्ली बुढा भएको पत्ता लाग्यो । प्रहरी कर्मचारीले सोधपुछ गर्दा उनले अर्को तथ्य बताइन्, जुन सुन्दा अचम्म पर्ने खालको थियो ।

प्रहरीले सोधखोज गर्दा बुढाले भनिन्, ‘मैले आफ्नै श्रीमान्‌को हत्या गरेको हुँ, मलाई कारबाही होस् ।’

त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली मुसीकोट नगरपालिका–८, किटनी गयो । बुढाको घरमा पुगेपछि उनका ३९ वर्षीय श्रीमान चित्रहादुर थापाको शव भेटियो । प्रहरीका अनुसार घटना भने आइतबार बिहान ४ बजेतिर नै भएको रहेछ ।

आइतबार विहान ४ बजे भएको घटनाको मुचुल्का उठाएर जिल्लासम्म शव ल्याउँदा बेलुकीको ९ बजेको थियो ।

‘बिहान उठेपछि नै दुवैजनाबीच विवाद सुरु भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले भने, ‘त्यसपछि विवाद बढ्दै जाँदा श्रीमतीले चक्कु प्रहार गरेको देखियो ।’

चक्कु साथमै लिएर जिल्ला प्रहरी कार्यालयमै आएपछि प्रहरी टोली घटनास्थलमा गएको डीएसपी केसीले बताए । घटनास्थलमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको शव भेटिएपछि अनुसन्धान अघि बढाइएको डीएसपी केसीले जानकारी दिए ।

हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धानकै क्रममा रहेको डीएसपी केसीले बताए । डल्ली चित्रबहादुरकी कान्छी श्रीमती हुन् ।

एकान्तमा घर रहेका कारण अरुले सजिलै घटनाको बारेमा थाहा पाएनन् । प्रहरी पुगेपछि मात्रै अरु स्थानीयले घटनाबारे थाहा पाएको मुसीकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बुद्धिप्रसाद बुढाले बताए ।

तस्वीर– ५० वर्षीया डल्ली बुढा, सौजन्य– जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम

प्रतिक्रिया दिनुहोस