फेरी आज सुनको मूल्य बढ्यो,तोलाको कति?पढ्नुहोस

काठमाडौंं, २७ बैशाख । आज नेपाली बजारमा सुनको मुल्य २ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, तेजाबी सुन आज ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भएको थियो । यसैगरी, चाँदी पनि १५ रुपैयाँले बढेर आज १३ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । आइतबार १३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

चालू आर्थिक वर्षको चैत महीनामा नेपालमा औसतभन्दा बढी सुन आयात भएको छ । चालू आवका अन्य महीनाहरूमा औसतमा रू। २ अर्ब १४ करोड बराबरको सुन आयात हुने गरेको थियो । तर, चैत महीनामा भने रू ३ अर्ब २ करोड ७१ लाख बराबरको सुन आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार यस महीनामा ४६० केजी सुन नेपाल भित्रिएको छ । परिमाणका आधारमा यो वर्ष मासिक औसतमा ३०० केजी सुन आयात हुँदै आएको थियो । चैतमा त्योभन्दा बढी सुनको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । वैशाख महीनामा हुने विवाहजस्ता कार्यक्रमलाई लक्षित गरेर सुनको आयात बढाउँदा यस्तो देखिएको हो ।

नेपालमा वैशाख महीनामा पनि विवाहका कार्यक्रम बढी हुने गर्छन् । विवाहमा सुनका गरगहना लगाउने, उपहार स्वरूप सुनकै गरगहना आदानप्रदान गर्ने प्रचलन छ । त्यसका कारण नेपालमा यस समयमा सुनको खपत बढी हुन्छ । त्यसैले चैत महीनामा सुनको आयात बढी गर्दै आएको छ ।

वैशाखमा हुने विवाहलाई लक्षित गरेर चैतमा सुनको आयात बढाइएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । ‘विवाहको सिजनका कारण वैशाखमा सुनको खपत बढी हुन्छ । सोही अवस्थालाई दृष्टिगत गर्दै चैतमा सुनको आयात बढाएका हौं,’ उनले भने, ‘कोरोना विपद्का कारण लामो समयसम्म विवाहका कार्यक्रम पनि हुन सकेका थिएनन् । तर, यसपालि विवाहका कार्यक्रम व्यापक मात्रामा हुने अपेक्षा छ ।’

गत चैत २४ गतेदेखि वैशाखको पहिलो हप्तामा मात्रै ५०० केजीभन्दा बढी सुन आयात भएको उनको भनाइ छ । कोरोना प्रभाव नबढेमा अबका दिनमा सुनको व्यापार राम्रै हुने उनको अनुमान छ ।

गत चैतदेखि सुनको आयात परिमाण दैनिक १० केजीबाट बढाएर २० केजी पु¥याइएको छ । त्यसको असरले पनि सुनको आयात बढ्न सहयोग पुगेको हो ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस