नेपालीहरू कतार प्रहरीमा भर्ना हुन जान पाउने, कति छ तलब ?

काठमाडौं । निजी क्षेत्रमार्फत् अब वैधानिक रूपमै नेपालीहरू कतार प्रहरीमा भर्ना हुन जान पाउने भएको अधिकारीहरूले बताएका छन्। श्रम मन्त्रालयका अनुसार कतार नेपाली श्रमिकहरूको सबैभन्दा रोजाइमा पर्ने मुलुकमध्ये एकमा पर्छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको भर्ना प्रक्रियामा निजी क्षेत्रको संलग्नतालाई स्वीकार गरेको छ। तर पहिले आफ्नो प्रहरीमा नेपाली नागरिक लिन इच्छुक कतारको “पछिल्लो मनस्थिति” के छ भन्ने थाहा नभएकाले त्यसबारे अन्योल कायमै रहेको नेपाली अधिकारीको भनाइ छ।

केही महिनाअघि कतारले करिब १० हजार नेपाली नागरिकलाई आफ्नो प्रहरीमा भर्ना गर्न चाहेको विवरणका समाचार सार्वजनिक भएका थिए। यद्यपि नेपालमा कतिपय म्यानपावर कम्पनीहरूले स्वीकृति नलिइकन “आफूखुसी रकम उठाएर” बदमासी गरेको भन्दै वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा हस्तक्षेप गरेको थियो। उसले गत चैतमा सूचना नै प्रकाशित गरेर कतार प्रहरीमा भर्ना गरिदिने बहानामा ठगी हुनसक्ने भन्दै सचेत हुन सबैलाई आग्रह गरेको थियो।

अधिकारीहरूका अनुसार यही असार पहिलो साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निजी क्षेत्रबाट कतार प्रहरीका लागि माग आएमा त्यसलाई प्रमाणीकरण गर्न कतारस्थित नेपाली दूतावासलाई निर्देशनात्मक पत्र पठाएको हो। मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले भने, “कतारमा सुरक्षाकर्मीका रूपमा रोजगारी दिने भनेर कतारले भनिसकेपछि कतारस्थित राजदूतावासमा कतार सरकारले त्यो पत्राचार गर्‍यो। राजदूतावासले केही प्रश्नहरू राखेर हामीसँग निर्देशन मागेको अवस्था थियो।” “त्यो अवस्थामा नेपाल सरकारको तर्फबाट मन्त्री स्तरीय निर्णयबाट त्यो पत्रको निर्देशनात्मक जवाफ पठाएको हो।”

तर उनले कस्तो निर्देशनात्मक जवाफ भन्नेबारे खुलाउन चाहेनन्। त्यसबारे कतारस्थित नेपाली राजदूत नारदनाथ भारद्वाजलाई जिज्ञासा राख्दा उनले “सरकार-सरकारबीच सम्झौता नभए पनि निजी क्षेत्रबाट कतार प्रहरीमा नेपालीलाई पठाउन दिने” पत्र प्राप्त भएको बताए। उनले भने, “कामदारको सबै कुरा निजी क्षेत्रले गर्ने हो हामीले त प्रमाणीकरण मात्र गर्ने हो।”

प्रतिक्रिया दिनुहोस