अफगानिस्तान युद्ध: कान्दहारको जेल ‘तालिबानको कब्जामा’, सरकारद्वारा सेना प्रमुख हटाइए

अफगानिस्तानमा एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेको तालिबानले त्यहाँको दोस्रो ठूलो सहर कान्दहारको एउटा जेललाई आफ्नो कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको खबर आएको छ।

तालिबानले उक्त जेललाई आफूले नियन्त्रणमा लिएको बताए पनि हालसम्म त्यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन।अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार देशको दक्षिणी भागमा अवस्थित उक्त सहरका “गल्ली गल्लीमा लडाइँ” जारी छ।

बढ्दो हिंसाका बीच बुधवार अफगान सरकारले त्यहाँका सेना प्रमुखलाई बर्खास्त गरेको थियो।हालसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीहरूलाई नियन्त्रण गरिसकेको तालिबानले कान्दहारलाई पनि कब्जा गर्न प्रयास गरिरहेको छ।

रेडक्रसका अनुसार अफगानिस्तानको उक्त दक्षिणी सहरबाट मानिसहरू पलायन भइरहेका छन्।त्यहाँ एक साताभित्र घाइते हुने सर्वसाधारणको सङ्ख्या दोबर भएको छ।

सेना प्रमुख बर्खास्त
श्रृङ्खलाबद्ध रूपमा अफगानिस्तानका प्रान्तीय राजधानीहरू तालिबानको कब्जामा गएपछि बुधवार अफगान सरकारले त्यहाँका सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको थियो।उनी उक्त पदमा गत जुनमा नियुक्त भएका थिए।उनका उत्तराधिकारीले देशभरि बढेको हिंसा र तालिबानको शक्तिसँग जुझ्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस