५ वर्ष मुनिका बालबालिकाले लगाउन हुँदैन मास्क, लगाएमा हुन्छ यस्तो जोखिम

काठमाडौं । कोभिडका कारण आम मानिसहरुमा मास्क लगाउने बानी परिसकेको छ । कतिपयले बाहिर निस्कँदा बालबालिकालाई पनि मास्क लगादिएको पाइन्छ । तर पाँच वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई मास्क लगाइदिनु हुँदैन । ५ वर्षमुनिका बालबालिकाका लागि अनिवार्य मास्क व्यवहारिक नहुने भएकाले मास्क लगाउनुभन्दा भिडभाडबाट जोगाउनु उत्तम हुने चिकित्सकहरु बताउँछन् ।

५ वर्ष मुनिका बालबालिकालाई मास्क लगाउदा र्‍याल तथा सिगान निस्कने, नाक बन्द हुनेसक्ने र बालबालिकाले मुखमा लगाएको मास्क मुखभित्र हाल्नसक्ने भएकाले उनीहरुलाई मास्क लगाइदिनु भन्दा भिडभाडबाट जोगाउन उपयुक्त हुन्छ । ५ वर्ष मुनिका बालबालिका पनि कोरोना संक्रमणको जोखिममा हुने भएकाले उनीहरुलाई भिडभाडबाट जोगाउनु पर्छ । बालबालिकालाई अस्पताल वा भिडभाडमा लैजानु परेमा सामाजिक दुरी कायम  गराउनु उपयुक्त हुन्छ ।

६ देखि ११ वर्षका बालबालिकाले भने अवस्था हेरे मास्क लगाउनुपर्छ । कोभिड १९ तपाईँको क्षेत्रमा व्यापक रुपमा फैलिएको अवस्थामा  सुरक्षित र उपयुक्त रुपमा मास्क लगाउनुपर्छ । मास्कमा पहुँच छ र तिनीहरूलाई धुन वा प्रतिस्थापन गर्न सकिन्छ भने मास्क प्रयाेग गर्दा हुन्छ । बालबालिकाले हालसालै गम्भीर बिरामी हुनसक्ने उच्च जोखिममा भएका अन्य व्यक्तिहरूसँग अन्तरक्रिया गरेका छन् भने वयस्कले सुपरिवेक्षण मास्क लगाउनुपर्ने चिकित्सककाे भनाइ छ ।

चिकित्सकहरु अनुसार १२ वर्ष र माथिका बालबालिकाले भने वयस्कहरूले जसरी नै मास्क लगाउनु पर्दछ । विभिन्न प्रकारको अपाङ्गता भएका बालबालिकाहरुको हकमा उनीहरुको सक्षमताको मुल्याङ्कन गरेर र उनीहरुको हित सुनिश्चित गरेर मात्र मास्क लगाउने वा नलगाउने भन्ने निर्णय गर्नुपर्छ । बालबालिकाले दौडँदा, उफ्रँदा वा अरु खेलकुदमा सहभागी हुँदा भने मास्क लगाउनु पर्दैन, उनीहरुलाई कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्न लगाउनु पर्छ।

प्रतिक्रिया दिनुहोस