सङ्खुवासभा हत्याकाण्ड : प्रहरीले भेट्टायो हराइरहेको फोन, लोकबहादुरका भाइ पनि पक्राउ

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोला गाउँमा ६ जनाको सामूहिक हत्या गरिएको घटनामा हराइरहेको मोबाइल प्रहरीले फेला पारेको छ । सामूहिक हत्याको आरोपमा पक्राउ परेका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेशबाट फोन बरामद भएको प्रहरीले जनाएको छ ।

हत्या गरिएका ६ जनामध्ये बुहारी ३२ वर्षीय रञ्जना कार्कीले प्रयोग गरेको मोबाइल फोन नरेशबाट बरामद भएको सङ्घीय इकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए । मोबाइल नरेशका साथमा भेटिएपछि उनीमाथि पनि प्रहरीले अनुसन्धान थालेको छ ।

तेजबहादुर कार्कीसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो । उनीहरूको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी तथा भतिज नाता पर्ने लोकबहादुरलाई गत शुक्रबार पक्राउ गरेको थियो ।

उनीमाथि थप अनुसन्धान गरिरहँदा प्रहरीले बुहारी रञ्जनाको मोबाइल फोन फेला पारेको हो । लोकबहादुरका भाइले गोठमा लुकाइरहेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक भीम दाहालले बताए । फोन बरामद भएपछि भाइलाई पनि सोधपुछका लागि गएराति प्रहरी कार्यालयमा ल्याइएको उनले बताए ।

साथै घटना हुँदा उनी पनि पछि–पछि भएको खुलेको छ । यसबारेमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुहारी रञ्जनाको मोबाइल फोन घटना भएको बिहानैदेखि हराएको थियो । बिहानदेखि नै स्विच अफ भएपछि प्रहरीले फोनको खोजी गरिरहेको थियो । प्रहरीले फोन फालिन सक्ने सम्भावित ठाउँहरूमा पनि खोजेको थियो। तर फेला परेको थिएन ।

विभिन्न कोणबाट भइरहेको अनुसन्धानले बीभत्स हत्यामा लोकबहादुरलाई भाइले पनि सहयोग गरेजस्तो देखिएको प्रहरीले जनाएको छ । तेजबहादुरसहित परिवारका ५ जनाको हत्या चिर्पट दाउराले हानेर लोकबहादुरले गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको हुनसक्ने प्रहरीको अनुमान छ । तथापि, यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । source-ktmdainik.com

प्रतिक्रिया दिनुहोस