कर्मचारीको काम मन परेपछि मालिकले पूरै पसल कर्मचारीलाई १ सय रुपैयाँमा बेचिदिए

काठमाडौं, आफ्नो कम्पनी वा पसल चलाउनका लागि मालिकहरु कर्मचारी राख्छन् । कर्मचारीलाई तलब दिन्छन् । तर, एक जना मालिक भने आफ्नो पसलमा काम गर्न राखेकी कर्मचारीको कामबाट यति प्रभावित भए कि उनले पूरै पसल ती कर्मचारीलाई मात्रै १ सय रुपैयाँमा बेचिदिए । अमेरिकाको कनेक्टिकनमा एक सैलुन मालिकले आफ्नो सैलुनमा काम गर्ने महिला कर्मचारीको कामबाट प्रभावित भएर आफ्नो पूरै पसल १ डलरमा बेचिदिएका हुन् ।

सैलुनका मालिक पियो इम्पेरतीले आफ्नो सैलुनमा काम गर्ने हेयर स्टाइलिस्ट क्याथी मौरालाई १ डलरमा आफ्नो पसल बेचिदिए । क्याथी मौरालाई हाइस्कुल पास भएपछि यिनै सैलुन मालिकले पहिलो काम दिएका थिए । पियो इम्पेरतीले न्यू हावेन रजिस्टरसँग भने ‘उनले राम्रोसँग काम गरेर मलाई प्रभावित पारिन् । उनी एक कुशल बार्बर हुन् । उनी निकै असल छिन् ।’ क्याथी मौरासँग आफ्नो मित्रता रहिरहोस् भनेर आफूले केवल १ डलरमा आफ्नो सैलुन बेचिदिएको उनले बताए ।

पसल क्याथी मौराको भएको छ तर उनले नियमित रुपमा पसल राखेको ठाउँको भाडा भने तिर्नुपर्नेछ । १ डलरमा पसल पाएपछि उनी पसल स्थापना गर्न चाहिने सामानहरुको लागि हुने हजारौं डलरको खर्चबाट भने बचेकी छिन् । ७९ वर्षीय इम्पेरती अब यहाँ स्वतन्त्र ठेकेदारको रुपमा काम गरिरहेका छन् । पसलकी मालिक्नी भएपछि क्याथीले भनिन् ‘मेरो सपना थियो कि एक दिन म आफ्नै सैलुन चलाउन सक्षम बनुँ जुन सपना आज पूरा भएको छ ।’

पियो इम्पेरतीले १९६५ मा व्यवसाय सुरु गरेका थिए । विभिन्न स्थानमा सैलुन संचालन गर्दै आजसम्म आइपुग्दा उनले यो व्यवसाय गर्न थालेको ५६ वर्ष भएको छ । ३२ वर्षीय मौराका अनुसार हाइस्कुल पूरा भएपछि कोही पनि उनलाई काममा राख्न तयार थिएन किनकि उनीसँग कुनै अनुभव थिएन । एक शिक्षिकाबाट उनले इम्पेरतीको नम्बर पाएकी थिइन् । त्यसपछि इम्पेरतीले उनलाई काममा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस