भारतीय सेनाप्रमुख सवार हेलिकप्टर दुर्घटना, जनरल बिपिन रावत जीवितै….!

काठमाडौं। भारतको तमिलनाडु राज्यको कुन्नुरमा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चिफ अफ डिफेन्स स्टाफ रावत जीवितै रहेको समाचार सार्वजनिक भएको छ ।

हेलिकप्टरमा सीडीएस रावत, उनकी पत्नीसहित सेनाका उच्च अधिकारीहरु थिए । दुर्घटनापछि अहिले उद्धार अभियान चलाइएको छ । हेलिकप्टरमा १४ जना सवार भएको बताइएको छ ।

दुर्घटनास्थलबाट ४ शव बरामद गरिएको समाचार एजेन्सी एएनआइले जनाएको छ । ७ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । अन्य तीन जनाको अवस्था अज्ञात छ । मृत्यु हुने, घाइते हुने र हराइरहेका को–को हुन् भन्ने विषयमा अहिलेसम्म सेनाले स्पष्ट जानकारी दिएको छैन ।

दुर्घटनाको कारण खराब मौसम हुन सक्ने प्रारम्भिक जाँचमा अनुमान गरिए पछि कारण स्पष्ट हुन सकेको छैन । सेनाको कार्ट अफ इन्क्वायरीपछि मात्र कारण स्पष्ट हुने बताइएको छ ।

दुर्घटनाको करिब १ घण्टापछि जनरल रावत जीवितै रहेको सूचना दिइएको भारतीइ अखबार दैनिक भास्करले जनाएको छ । जनरल रावतलाई वेलिंगटनको मिलिट्री अस्पतालमा लगिएको छ ।

उनको स्थिति कस्तो छ भन्ने विषयमा विस्तृत जानकारी दिइएको छैन । केही रिपोर्टमा जनरल रावत गम्भीर रुपले घाइते भएको दावी गरिएको छ । उनलाई गम्भीर अवस्थामा उपचारको लागि अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस