बाइकले जुराएको विमानका पाइलट जोडी

काठमाडौ, शिखर ढकाल तथा कोमल बस्नेत सन् २००८ मा बुद्ध एयरमा जुनियर फस्ट अफिसरका रूपमा प्रवेश गरेका पाइलट हुन् ।उनीहरु अहिले सिनियर पाइलट बनिसकेका छन् । पुख्र्यौली घर विराटनगर भएको यो जोडीको पारिवारिक सम्बन्ध निकै सुमधुर थियो ।उनीहरु छिमेकी थिए । तरपनि पढाइको बेला भने कुनै हिमचिम थिएन । विदेशबाट पढाइ सकेर नेपाल आउँदासम्म शिखर र कोमलबीच चिनजान नै थिएन ।कोमल विराटनगरमा हुँदा शिखरको परिवार काठमाडौं सरिसकेकाले पनि उनीहरूको भेट नभएको हो । तर उनीहरुका अभिभावकबीच भने समधुर सम्बन्ध थियो ।

अमेरिकाबाट पाइलट कोर्स सकेर काठमाडौं आई एफआरओ कक्षा लिने क्रममा उनीहरूबीच चिनजान भयो ।१२ जनाको उक्त समूहमा शिखर, कोमल र अन्य दुई जना मिल्ने साथी थिए । त्यसमा पनि शिखर र कोमल बढी क्लोज देखिन्थे ।कोमलसँग त्यतिबेला सवारी साधन थिएन । त्यसैले शिखर लिन आउँथे अनि पुर्‍याउन पनि जान्थे ।बाइकको पछाडि बसेर विभिन्न कुराकानी गर्दै नजिकिएको यो जोडी फुर्सदमा खान र घुम्न जान थाल्यो । उनीहरु नै भन्छन् हामीलाई बाईकले धेरै क्लोज बनायो ।

रिजर्भ बस्ने शिखर कोमलको बोली, व्यक्तित्व एवं व्यवहारका साथै कसैसँग नडराउने बानिप्रति आकर्षित भए । कोमललाई भने शिखरको इनोसेन्स, कुल अनि नआत्तिने व्यवहार एवं कामप्रतिको इमान्दारिताले आकर्षित गर्‍यो ।एकले अर्कालाई मन पराउने कुरा थाहा पाएपछि घरबाट उनीहरूको मागी विवाह भएको हो । उनीहरूको विवाहमा उनीहरू जत्तिकै दुवै परिवार खुसी थिए ।विवाहपछि करियरमा गार्‍हो भन्दा अझ ऊर्जा बढेको उनीहरू बताउँछन् । उनीहरूले एउटै प्लेन उडाउन नपाए पनि एउटै समयमा छुट्टाछुट्टै प्लेन भने धेरैपटक उडाएका छन् ।

एउटै समय हुँदा एयरपोर्टमा एक–अर्कालाई भेट्दा निकै रमाइलो अनुभव हुने कोमल बताउँछिन् । अफिसले हप्ताको एक दिन सँगै छुट्टी मिलाइदिएकाले उनीहरूलाई घुम्न वा कतै जान समय मिलाउनु पर्दैन ।समय मिलाएर वर्षको एकपटक बाहिर घुम्न जाने यो जोडीलाई एउटै क्षेत्रको भएकाले कामको मर्म बुझ्न सजिलो भएको अनुभव छ । उनीहरूले भारतको टुर जंग कम्पनीमा ७ महिना क्याप्टेनका रूपमा काम गरेका छन् । त्यहाँ कतिपय ठाउँमा नेपाली भनेर हेप्न खोज्दा कोमलले नै आवाज उठाउँछिन् ।कुन ठीक हो, कुन बेठीक हो छुट्याएर त्यसमा अडिग भएर लाग्ने उनको क्षमतालाई शिखर सलाम गर्छन् । उनीहरू घरको काम पनि मिलेर गर्छन् ।

बिहान अफिस नहुनेले खाना बनाउनेदेखि लिएर घरका अन्य काम पनि गर्छन् । त्यसैले पनि उनीहरूमा घरको कामलाई लिएर कुनै तनाव हुँदैन । उनीहरू फुर्सदमा घरमै आराम गर्न रुचाउँछन् । अफिसबाट ६–६ महिनामा दुवैलाई सँगै ट्रेनिङमा बैंकक पठाइन्छ ।त्यतिबेला उनीहरू दुई दिन समय थपी घुमेर आउँछन् । जस्तोसुकै समस्यामा पनि एकले अर्काको अनुहार मात्र देख्दा पनि आनन्द महसुस गर्छन् ।यो जोडीलाई हरेक काम उत्तिकै रिस्क भएको काम जस्तो लाग्छ । उनीहरूलाई आकाशमा प्लेन उडाउँदा जस्तो रमाइलो क्षण अरू कुनै लाग्दैन । उनीहरू घरमा आ–आफ्नो अनुभव सुनाउँदै नयाँ टेक्नोलोजी र ठाउँ तथा मौसमका बारेमा छलफल गर्छन् ।(जनबोली बाट)

प्रतिक्रिया दिनुहोस