मलेसियामा बाढीका कारण हजारौं मानिसहरू घर छोड्न बाध्य, कुन कुन स्थान डुबानमा ?

क्वालालम्पुर । मलेसियामा आएको भीषण वर्षाको कारण देशभरि नै क्षति पुऱ्याएको छ । हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।अधिकारीहरूका अनुसार वर्षाको कारण आएको बाढीले ११,००० मानिसहरू घरबारविहीन भएका छन्। बाढीका कारण सडकहरु अस्तव्यस्त भएकोले यातायात तथा ढुवानी सेवा पनि अवरुद्ध भएको छ ।

देशमा आएको बिपदको विषयमा मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री ज्याकोबले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बाढीमा फसेकाहरुलाई बचाउने प्रयास भइरहेको बताएका छन। बाढी प्रभावित जनतालाई आश्रयस्थलसम्म पु¥याउन देशभर ६६ हजारभन्दा बढी प्रहरी, सेना र अग्नि नियन्त्रण विभागका कर्मचारी खटाइएको उनले बताए।

देशको सबैभन्दा ठूलो बन्दरगाह पोर्ट क्लाङका अधिकारीहरूले बाढीले जहाज सञ्चालनमा गम्भीर असर पारेको र दर्जनौं राजमार्ग तथा सडक अवरोध भएको बताए। सुनसान सडकमा पहिरो र डुबानमा परेका गाडी तथा घरहरुका तस्वीरहरु सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल भइरहेको छ।

बाढीपहिरोको घटना ट्रयाकिङ गर्ने एक सरकारी वेबसाइटका अनुसार देशका १६ राज्य र संघीय क्षेत्रमध्ये ८ को जलस्तर शनिबार सम्म खतराको सतहमा पुगेको छ । जसकारण आगामी दिनमा स्थिति झन् खराब हुँदै जाने आकलन गरिएको छ ।

मलेसियन मौसम विभागले आइतबारसम्म भीषण वर्षा हुने चेतावनी दिएको छ । मलेसियाको सेलङर, क्वालालम्पुर र विभिन्न राज्यमा भारी वर्षा हुने सम्भावना रहेको छ । वर्षाको कारण मानिसहरू आफ्नो घर छोडेर सुरक्षित ठाउँमा गईरहेका छन ।

प्रतिक्रिया दिनुहोस