‘सास पनि डुङ्गामा लास पनि डुङ्गामा’

पाेखरा फेवाताल किनारमा उभिएर पारि हेर्दा तालले किनारा लगाएकाे एउटा गाउँ भेटिन्छ । तालले सिमाना काेरिदिएकाे गाउँकाे कथा बेग्लै छ ।घामको लाली डाँडामा छाउन नपाउँदै गाउँका मान्छेहरुकाे दैनिकी सुरु हुन्छ।

कोही भैंसीको लागि कुँडो पकाउने, कोही गाई भैैंसीकाे दूध दुहुने, कोही चाहिँ घाँस काट्न बारीका पाटातिर जाने।सितकाे तप्कना अझैं राेकिएकाे छैन । गाउँलेहरु काँधमा दूधका क्यान बोकेर ओरालो झर्छन् ।

ताल नजिकैको पौवामा भारी बिसाउँछन् । अनि एकजनाले दुध जम्मा गर्छन् । दूध बाेकेकाे डुङ्गा तालकाे बाटाे हुँदै करिब एक घण्टामा बजार पुग्छ ।दूध पुर्याउन मात्र होइन, ‌‌औषधी उपचार गर्न,किनमेल गर्न अनि जन्तीदेखि मलामी जान पनि डुङ्गा नै चाहिन्छ ।

सामान किनमेल गरेर बजारबाट घर फर्किदै गरेकी हजुरआमा भन्छिन्- ‘सास पनि यै डुङ्गामा लास पनि यै डुङ्गामा’ताल पारिका गाउँहरु बिस्तारै रित्तिदै छन् । गाउँमा साना-साना नानीबाबु र बुढापाका मात्रै भेटिन्छन् । युवाहरू कोही विदेशिए, कोही बजारतिरै झरे । बचेखुचेका सपनाहरु डुङ्गा चढेर फेवाताल वारि पारि गरिरहन्छन् ।

प्रतिक्रिया दिनुहोस