काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात (फोटो)

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकीसहित हुम्ला, सोलुखुम्बु, बझाङ, बाजुरा, बैतडी, डाेटी, दार्चुला लगायत जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो ।

सुदूरपश्चिममा अहिलेसम्म तेस्रो पटक हिमपात भएको छ । यसअघि माघ दोस्रो हप्ता र गएको पुसमा पनि सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो ।

हिमपातसँगै चिसाेले त्यस क्षेत्रकाे जनजीवन कष्टकर भएको छ ।सुदूरपश्चिमका जिल्लामा बिहीवार दिउँसोदेखि पानी पर्न सुरु भएसँगै हिजाे रातिदेखि हिमपात समेत सुरु भएको हो ।

हिमपातका कारण बझाङको टेलिफोन सेवा, यातायात सेवा र विद्युत् सेवा समेत ठप्प भएकाे छ । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गत ढोल्यामोड श्रीभावर लगायतका दर्जनभन्दा बढी ठाउँमा बाक्लो हिउँ परेकाे छ ।

जसका कारण लामाे तथा छाेटाे दूरीमा चल्ने दर्जनौँ गाडीबीच बाटोमै अलपत्र परेका छन् । हिमपात भइरहेका कारण सडक सञ्चालनमा ल्याउन पनि समय लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै डोटीको खप्तड, गोलादेउ, नापानी, चर्केकोलेक, बडिकेदारथान, अल्याडी, चौरीबाज, ओखरखाली, मुस्ताल, देउताल, शिखरगाथ क्षेत्रमा बिहीवारदेखि हिमपात भइरहेको छ ।

यस्तै, सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा भारी हिमपात भइरहेको छ । सडकमा बाक्लो हिउँ जमेका कारण गाडी चल्न सकेकाे छैन भने काठमाण्डौलगायत बाहिरी जिल्लामा जाने गाडी छुट्न सकेका छैनन्।हिमपातका कारण तीन वटा राजमार्ग बन्द भएका छन् । यसैबीच कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण हवाई उडान प्रभावित भएको छ ।

नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यान्न ढुवानी हिमपातका कारण रोकिएको छ । हिमपात भएपछि किसान भने खुसी भएका छन्।हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भएकाले किसान खुसी भएका हुन् ।

चन्द्रागिरिमा हिमपात :

प्रतिक्रिया दिनुहोस