नेपाली चलचित्र लाखेको छायांकनका लागि भारतबाट काठमाडौं आउन सकेनन् अभिनेता सुनिल थापा

काठमाडौं, खल अभिनेता सुनिल थापाले आफ्नो फिल्म ‘लाखे’का लागि समय नदिएको आरोप सो चलचित्रको निर्माण टिमले लगाएको छ । एकातर्फ कोरोनाको महामारी र अर्कोतर्फ आफू बलिउडको केही फिल्ममा व्यस्त रहेका कारण लाखेको छायांकनका लागि काठमाडौं आउन नभ्याएको थापाले बताएका छन् ।

केही समयपछि नेपाल आउने सुनिल थापाले बताए पनि उनलाई आफूहरूले कुर्न नसक्ने भन्दै निर्देशक सम्राट बस्नेतले सुनिल थापाको ठाउँमा अर्का खल अभिनेता प्रशान्त ताम्राकारलाई अनुबन्धित गरेका छन् ।

यो चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा यसअघि नै अनुबन्धित भएर छायांकनमा व्यस्त थिए । मुम्बईबाट सुनिल थापा तत्काल नेपाल आउन सक्ने अवस्था नभएपछि छायांकनलाई नरोक्ने भन्दै निर्माण टिमले प्रशान्त ताम्राकारलाई अनुबन्धित गरेको रहेछ ।

करिब ४ करोडको लागतमा निर्माण हुने भनिएको यो फिल्ममा आफू अनुबन्धित भएकोमा खल अभिनेता प्रशान्तले खुसी व्यक्त गरेका छन्, ‘एकसाथ धेरै स्टार कलाकारसँग काम गर्न पाउदा निकै खुसी लागेको छ । फिल्ममा आफूले सक्दो नयाँ र राम्रो काम गर्ने कोसिस गर्नेछु,’ कलाकार प्रशान्तले बिहीबार सञ्चारकर्मीसँग भने ।

चलचित्र लाखेको अहिले काठमाडौंमा छायांकन भइरहेको छ । २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्ने नियम लगाएपछि अहिले दुईवटा युनिट बनाएर चलचित्र लाखेको काठमाडौंमा छायांकन गरिँदै छ ।राजधानि दैनिकमा खबर छ । चलचित्र लाखेलाई सम्राट बस्नेतले निर्देशन गरिरहेका छन् । ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको ‘लाखे’का कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । यसका निर्माता सिजन अर्याल र प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको छ ।

प्रतिक्रिया दिनुहोस