यी हुन् धमनी र नसाको समस्याका कारण लाग्ने ६ रोग, यस्ता संकेत देखिए रहनुहोस् सावधान

काठमाडौँ । कुनै व्यक्तिमा भास्कुलर सिस्टम (रक्तप्रवाहमा महत्वपूर्ण भूमिका भएका धमनी र नसा) सम्बन्धी समस्या छ भने त्यसलाई भास्कुलर रोग भनिन्छ भने त्यस्तो अवस्थामा गरिने सर्जरीलाई भास्कुलर सर्जरी भनिन्छ।

भास्कुलर सर्जरीका क्रममा धमनी र नसामा भएका क्षति र आएका समस्यालाई शल्यक्रियाका माध्यमबाट उपचार गरिन्छ। ओपन सर्जरीलाई भास्कुलर सर्जरी भनिन्छ भने सानो प्वालमात्र गरेर गरिने सर्जरीलाई इण्डोभास्कुलर सर्जरी भनिन्छ।

सामान्यतः अधिक धूमपान गर्ने, मधुमेहको समस्या भएका तथा ५० वर्षभन्दा माथिका मानिसमा यस्तो रोग लाग्ने गर्छ। भास्कुलर रोगमा खुट्टामा घाउ हुने समस्या (डायबेटिक फुट), लेग अट्याक, ब्रेन अट्याक (स्ट्रोक), भ्यारिकोज भेन, खुट्टा सुन्निने (लेग स्वेलिङ) तथा एनुरिजम पर्छन्।

डायबेटिक फुट

हरेक वर्ष हजारौं मानिस मधुमेहको शिकार बनिरहेका हुन्छन्। मधुमेहका रोगीले खुट्टाको घाउमा विशेष ध्यान दिनुपर्छ। यस्ता घाउलाई समयमै ध्यान नदिने हो भने खुट्टै काट्नुपर्ने अवस्था पनि आउन सक्छ। रक्तनलीमा रोकावट आएर यस्तो हुन सक्छ।

लेग अट्याक

हिँड्ने क्रममा खुट्टामा पीडा हुन्छ या खुट्टाको औंलामा पोलेको जस्तो अनुभव हुन्छ भने भास्कुलर रोग लागेको हुन सक्छ । यो लेग अट्याकको पहिलो लक्षण हुन सक्छ।

लेग अट्याक हर्ट अट्याकभन्दा बढी खतरापूर्ण हुन्छ। सुरुमै पत्ता लाग्यो र उपयुक्त उपचार भयो भने यो सजिलै निको हुन्छ। तर, उपचारमा ढिलाइ भयो भने उपचार जटल हुन्छ।

यसलाई इन्डोभास्कुलर (एन्जिओप्लास्टी तथा स्टेन्टिङ), तथा ओपेन सर्जरी (बाइपास तथा रिमुभल अफ प्लाक) बाट उपचार गनुपर्ने हुन्छ। अन्तिम अवस्थामा खुट्टा नै काट्नुपर्ने पनि हुनसक्छ । धूमपान गर्ने, मधुमेहको समस्या भएका, उच्च रक्तचाप तथा उच्च कोलेस्टेरोल, ५० वर्ष नाघेका व्यक्तिमा र वंशाणुगत रुपमा यस्तो समस्या हुन सक्छ ।

ब्रेन अट्याक

अर्को भास्कुलर समस्या भनेको स्ट्रोक अर्थात् ब्रेन अट्याक पनि हो । दिमागमा रगत आपूर्ति गर्ने घाँटीको ‘क्यारोटिड आर्टरिज’ नामको रक्तनली विभिन्न कारणबाट साँघुरिएर यस्तो हुन सक्छ।

ब्रेन अट्याक हुँदा भास्कुलर सर्जनले ओपन सर्जरी गरेर या स्टेन्टिङ गरेर रक्तनली खुलाउन सकिन्छ । दिमागमा रगत आपूर्ति हुन नसक्दा दिमागमा स्थायी रुपमा क्षति पुग्छ र पाखुरा तथा खुट्टा चलाउन नसक्ने या बोल्ने र हेर्ने शक्ति नै गुम्ने हुन सक्छ ।

यस्तै, दिमागमा आंशिक रुपमा रगत आपूर्ति अवरुद्ध भयो भने ट्रान्साइन्ट इसामिक अट्याक पनि हुन्छ, जसलाई मिनी स्ट्रोक पनि भनिन्छ । यसमा पनि स्ट्रोकमा जस्तै लक्षण देखिन्छ र एक दिनभन्दा कम समय रहन्छ । यसमा स्ट्रोकमा जस्तो दिमागमा स्थायी रुपमा क्षति भने हुँदैन । यसका रिस्क फ्याक्टरहरु उच्च कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप हुन्।

भ्यारिकोज भेन

खुट्टा तथा पैतालाको नसामा असामान्य अवस्था आउने समस्यालाई भेरिकोज भेन भन्ने गरिन्छ। यसमा खुट्टाको नसा सुन्निले या ठूलो हुने हुन्छ, जुन निकै पीडादायी हुन्छ। समयमै उपचार नगरे नसा फुट्ने या अल्सरसम्म हुने हुन्छ। यसलाई भास्कुलर सर्जनले आधुनिक तरिकाले इण्डोभेनस थर्मल एब्लासन गरेर उपचार गर्छन् । प्रायशः लामो समयसम्म उभिनुपर्ने व्यक्ति, गर्भवती, मोटोपना भएको व्यक्ति, वृद्धवृद्धा र आनुवंशिक रुपमा यो रोग लाग्छ ।

खुट्टा सुन्निने (लेग स्वेलिङ)

भ्यारिकोज भेन, लिम्फेडिमा, मुटु फेलियर, मिर्गौला फेलियर आदि कारण खुट्टा सुन्निने हुन्छ। यसो भयो भने सकेसम्म चाँडो भास्कुलर सर्जनलाई देखाइहाल्नुपर्छ।

एनुरिजम

भास्कुलर रोगको अर्को गम्भीर रुप भनेको एनुरिजम हो, जुन धमनी (आर्टरी) सुन्निने कारण हुन्छ । यसमा एओर्टा धमनी प्रभावित हुन्छन् । यसमा स्टेन्टिङ र इण्डोभास्कुलर इओर्टिक एनुरिजम रिपियर (एभिएआर) गरिन्छ।

प्रतिक्रिया दिनुहोस