यस्तो छ पल शाहविरुद्धको जाहेरीमा उल्लेख भएको घटनाक्रम

काठमाडौं । बुधबार दिउँसो चर्चित अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबर्जस्तीकरण जाहेरी दर्ता भयो । १७ वर्षीया एक बालगायिकाकी बुवाले आफ्नो छोरीलाई करणी गरेको आरोपमा अभिनेता शाहविरुद्ध प्रहरीमा जाहेरी दिएपछि यस प्रकरणले रंगिन दुनियाँमा हलचल मच्चायो ।

मिडियादेखि सामाजिक सञ्जालमा पल शाहकै समाचारले प्राथमिकता पाए । एक चर्चित अभिनेता भएका कारण पनि य स प्रकरणले हलचल मच्चिनु स्वभाविकै थियो । यद्यपि, यस प्रकरणले पछिल्लो रंगिन दुनियाँको पर्दाफास पनि गरेको छ ।

बुधबार तनहुँ प्रहरी कार्यालयमा शाहविरुद्ध जाहेरी दर्ता भएपछि खास घटनाको क्रम खुल्यो । जाहेरीमा उल्लेख भएको घटनाक्रमअनुसार घटना एक वर्षभन्दा अघि देखिनै घटेको देखिन्छ ।

यस्तो छ घटना क्रम :

– मिति २०७७/०६/२२ गते (०८/१०/२०२०) मा काठमाडौंमा ‘पिपलु वर’ गीतको म्युजिक भिडियोको सुटिङको क्रममा पहिलो पटक भेटघाट भइ फेसबूक आईडी र फोन नम्बर एकापसमा आदान–प्रदान गरेको ।

– मिति २०७७/१२/३१ गते बागलुङ जिल्लामा आयोजित ‘गलकोट महोत्सव’मा जाँदा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाईं, कृष्ण जोशी लगायतका कलाकारसँग एउटै गाडीमा गएको ।

– ‘गलकोट महोत्सव’ सकाएर फर्कने क्रममा बाल गायिका (पीडित) र प्रतिवादी शाह एउटै सिटमा यात्रा गर्ने क्रममा बाल यौन दूब्यवहार गरी संवेदनशील अंग चलाउने, जिस्काउने, समात्नेलगायतका कार्य गरेको ।

– मिति २०७८/०१/०२ गते पीडित बालिका काठमाडौंस्थित आफ्नो कोठामा बस्न सुरु गरेकी र प्रतिवादी शाहसँग सामान्य भेटघाट गर्दै आएको ।

– लकडाउनको हल्ला चलेपछि पीडित बालिका आफ्नो घर फर्किएकी र त्यसको एक सातापछि प्रतिवादी शाहले ‘सुटिङको लागि पोखरा आउँदै छु, तिमीलाई भेट्छु’ भनी लोखरास्थित लेकसाइडमा बोलाएर भेटघाट गरेको ।

– २०७८/०१/१४ गते साँझ १९ः०० बजे पोखराबाट काठमाडौं फर्कने क्रममा तनहुँको शुक्लागण्डकी नगरपालिका–दुलेगौडास्थित प्रदीप थापाको घरमा ‘विवाह गर्छु, धोका दिन्न’ भन्दै असहमति हुँदाँदै पनि जबरजस्ती करणी गरेको । (अन्तिमपटक)

– त्यसको भोलिपल्ट ढोर बाराही मन्दिरसमेत घुमाएको र दुलेगौंडाको सुटिङ सकाएरर काठमाडौं फर्किएको ।

– यसअघि मिति २०७७/०९/१० गते पोखरास्थित होटल प्राइम र मिति २०७७/१२/०७ गते चितवनस्थित गैडाकोट रिसोर्टमा पनि जबरजस्ती करणी गरेको ।

के छ कानुनी सजायको व्यवस्था ?

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार कुनै महिलाको मञ्जुरीबिना वा १८ वर्षभन्दा मुनिको बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्तीकरणी गरेको मानिनेछ । उपदफा ३ मा करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरेर सजाय तोकिएको छ ।

उपदफा ३ (क) मा १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा माथिको महिलामाथि करणी भए जन्मकैद हुने भनिएको छ ।

उपदफा ३ (ख) अनुसार दश वर्ष वा १० वर्षभन्दा बढी, १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ देखि २० वर्षसम्म कैद सजाय हुनेछ ।

उपदफा ३ (ग) अनुसार १४ वर्ष वा १४ वर्षभन्दा बढी, १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ देखि १४ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

उपदफा ३ (घ) अनुसार १६ वर्ष वा १६ वर्षभन्दा बढी, १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

उपदफा ३ (ङ) अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

पीडित बालिकाकी बुवाले दिएको जाहेरी अनुसार पीडितको उमेर १६ वर्ष रहेको छ । यसअनुसार पीडकलाई १० देखि १२ वर्षको कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस