भोलि बिहीबार सार्वजनिक विदा !

काठमाडौं। भोलि बिहीबार सरकारले सार्वजनिक विदा दिने तयारी गरेको छ । यस विषयमा निर्णय गर्नको लागि अहिले गृह मन्त्रालयमा बैठक बसिरहेको छ । बैठकले विदाबारे निर्णय गर्ने र सूचना जारी गरिने गृह मन्त्रालय स्रोतले जनाएको छ । भोलि शेर्पा समुदायको नयाँ वर्ष अर्थात ग्याल्पो ल्होसारका अवसरमा विदा दिन लागिएको हो ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउँदै आएका छन् । यस वर्ष नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४९ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन् ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस