रुससँग लड्न युक्रेनी सेनामा भर्ती भए २० हजार विदेशी

रुसले गरेको आक्रमणको प्रतिकारमा लडाइँ गर्न करिब २० हजार विदेशी युक्रेन आएका छन्।युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनएनसँगको कुराकानीमा यसरी युक्रेन आउनेमा सबैभन्दा धेरै युरोपेली मुलुकका नागरिक रहेको उल्लेख गरेका छन्। ‘विश्वका धेरै मानिसहरु रुसलाई घृणा गर्छन् र पछिल्लो समय उसले त्यस्तै काम पनि गर्दै आएको छ। तर, धेरै मानिसहरु खुलारुपमा रुसविरुद्ध बोल्न र उसँग लड्ने साहस गर्न सक्दैनन्’, उनले भने।

‘धेरै मानिसले युक्रेनी नागरिकहरु लडिरहेको र उनीहरुले हिम्मत नहारेको देखे। यस्तोमा धेरैलाई यो युद्धमा सामेल हुने प्रेरणा मिल्यो’, उनले थपे। युक्रेनका अधिकारीहरुले विदेशीहरु युक्रेनमा आएर लडाइँ लड्न आउनु दीर्घकालीन, राजनीतिक, आर्थिक र सैन्य हिसाबमा निकै महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।

युक्रेनले पुनः आफ्नो नियन्त्रयणमा लियो पूर्वी क्षेत्रको सहर
युक्रेनका रक्षा अधिकारीले आफ्नो सेनाले पूर्वी सहर चुहुइभलाई पुनः नियन्त्रणमा लिएको बताएका छन्।सामाजिक सञ्जाल फेसबुकमा अपडेट दिने क्रममा युक्रेनका जनरल स्टाफले युक्रेनको सेनाले रुसी सेनाले कब्जामा लिएको सहरलाई पुनः आफ्नो नियन्त्रणमा लिएको उल्लेख गरेका हुन्।

सहरलाई पुनः आफ्नै नियन्त्रणमा लिने क्रममा रुसी सेनातर्फ ठूलो क्षति भएको उक्त पोस्टमा उल्लेख गरिएको छ। युक्रेनका अधिकारीहरुले रुसका दुई शीर्ष सैन्य अधिकारी पनि युद्धमा मारिएका छन्। यद्यपि युक्रेनको यो दाबी स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

चुहुइभ युक्रेनको रणनीतिक हिसाबमा महत्वपूर्ण स्थानमा रहेको सहर हो। यो सहर युक्रेनको दोस्रो ठूलो सहर खारकिभभन्दा २३ माइल टाढा पर्छ।खारकिभमा रुसले पछिल्लो एक सातामा ठूलो आक्रमण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस