‘बुर्का’ छोडेर स्टार फुटबलर बनेकी नदिया !

राष्ट्रिय टोलीका लागि ९९ गोल गरेकी उनले हालसम्म विपक्षीको पोस्टमा दुई सय गोल गरेकी छन् । त्यसबाहेक विभिन्न लिगको उपाधि र व्यक्तिगत अवार्डहरू हात पारेकी छन् । नदिमले गत महिनामात्र डाक्टरको उपाधि पाइन् । फुटबलसँगसँगै पढाइलाई पनि निरन्तरता दिएकी उनी पाँच वर्षको मेहनतपछि डाक्टर बनेकी हुन् । पढाइले डाक्टर बनेपनि उनले फुटबल नछोड्ने अडान लिएकी छन् ।

एक सफल फुटबलर अनि चिकित्सक बन्नुभन्दा अगाडिको ३४ वर्षीया नदिमको कथा पीडादायी छ, जसले जोकसैको जीवनमा पनि प्रेरणादायी भूमिका खेल्न सक्छ । २ जनवरी १९८८ मा अफगानिस्तानको हेरातमा जन्मिएकी नदियाका बुबालाई तालिबानले मारेका थिए । जब उनका बुबा मारिए, उनी त्यसबेला ११ वर्षकी थिइन् ।

अफ्गानस्तानका आर्मी रहेका पितालाई तालिवानले गोली हानेर मारेको समाचार सुन्दा उनी र उनको परिवार मरणासन्न अवस्थामा पुगेको थियो । नदियासामु आमा र आफ्ना चार दिदीबहिनीहरूसँगै नक्कली पासपोर्ट बनाएर छिमेकी मुलुक पाकिस्तान हुँदै देश त्याग्नु पर्ने बाध्यता आएको थियो ।

उनीहरूका केही आफन्त लन्डनमा थिए । त्यसैले लन्डन जाने भएपनि कागजपत्र नक्कली भएका कारण उनीहरू पाकिस्तानबाट इटाली पुगे । ‘इटालीबाट ट्रकमा कोचिएर लन्डन हिँडेका थियौँ तर केही दिनको यात्रापछि हामीलाई ट्रकले डेनमार्कमा फ्यालेर हिँडेछ,’ विगत सम्झिँदै उनी भन्छिन् । डेनमार्कमा उनीहरू अफ्गानी शरणार्थीका हिसाबले सानोतिनो काम गर्दै बसे ।

उनले फुटबलप्रतिको आफ्नो प्रेम पनि त्यही क्याम्पमा भेट्टाइन् । जीविका चलाउन नै गाह्रो हुने भएका कारण आमा–दिदीबहिनीहरू काममा ध्यान लगाउँथे । तर उनी भने फुटबलका लागि काम र बुर्का छोडेर अभ्यासमा होमिइन् । नदियाको लगाव देखेर बी–५२ अल्बर्ग क्लबले उनलाई अनुबन्ध गर्‍यो ।

त्यहाँ उनको प्रदर्शन राम्रै हुन थालेपछि सन् २००९ मा डेनमार्कको राष्ट्रिय टिमको ढोका खुल्यो । उनले सोही वर्ष डेनमार्कबाट डेब्यु गरिन् । डेनमार्कले अल्गार्भे कपअन्तर्गत अमेरिकासँगको खेल खेल्दा राष्ट्रिय टिममा डेब्यु गरेकी उनले त्यसपछिका केही खेलमा टोलीलाई जिताउन महत्त्वपूर्ण योगदान दिइन् ।

त्यसअघि नै राष्ट्रिय टिमबाट डेब्यु गर्ने मौका उनीसँग थियो । तर फुटबलको सर्वोच्च निकाय (फिफा) ले उनलाई रोक्यो । सन् २००८ मा उननले दुई वर्षको मेहनतपछि नागरिकता बनाएकी थिइन् । तर फिफाले भने नदिमले डेनमार्कका लागि खेल्न नपाउने जनाउँदै डेब्यु गर्नबाट रोक्यो । तर अर्को वर्ष भने उनलाई फिफाले अनुमति दियो । २००९ मा उनले राष्ट्रका लागि खेल्न पाएकी उनी डेनमार्कको सिनियर टिममा खेल्ने पहिलो शरणार्थी खेलाडी बनिन् ।

यता, व्यावसायिक फुटबलतिर उनी निरन्तर सफल भइन् । सन् २०१४ मा स्काई ब्लुबाट खेलेकी उनी २०१६ मा पोर्टल्यान्ड थ्रोन्समा अनुबन्ध भइन् । २०१७ मा म्यानचेस्टर सिटीबाट खेलेकी उनले २०१९ मा पिएसजी रोजिन् । त्यहाँबाट दुई वर्ष खेलेपछि उनी २०२१ मा केन्टकीको रेसिङ लुइसभिले एफसीबाट खेलिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस