स्थानीय तहको चुनाव सार्ने कुरा चलिरहेको छः अध्यक्ष नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव सार्ने कुरा चलिरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा आइतबार संवाददाताहरुसित कुरा गर्दै अध्यक्ष नेपालले स्थानीय तहको चुनावको मिति परिवर्तनबारे सत्ता गठबन्धनमा छलफल भइरहेको बताउनुभयो । स्थानीय तहको चुनाव सार्ने कुरा भइरहेको हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘त्यो कुरा चलिरहेको छ ।’

अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गरी चुनावमा जानेलगायतका विषयमा प्याकेजमै छलफल भइरहेकोसमेत जानकारी दिनुभयो । ‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न पनि नदिने, हाउसलाई पंगु बनाउने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने,’ उहाँको भनाइ छ, ‘केपी ओलीको बितण्डाको सामना गर्न संसदलाई भंग गरिदिने । न संसद रहन्छ, हंगामा गर्ने ठाउँ रहन्छ । अनि चुनावमा जाने ।’

स्थानीय तहको चुनाव अगाडि कि पछाडि विघटन गर्ने भनि संवाददाताले राखेको प्रश्नमा अध्यक्ष नेपालले जवाफ दिनुभएन ।नेपालसहित १४ सांसदमाथि गरेको कारबाही सदर नगरेको भन्दै प्रमुख विपक्षी एमालेले निरन्तर सदन अबरोध गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस