संखुवासभा बस दुर्घटना अपडेट : मृतकमध्ये १० जनाको पहिचान 

संखुवासभा, २६ फागुन । संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० जना र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औशीडाँडाका ३० वर्षीय विपीन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दिपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी–६ कि अञ्जना कटुवाल र मादी–५ की दिशा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएका एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुल्न बाँकी रहेको सुवेदीले जानकारी दिए । बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस  दुर्घटनामा परेको थियो ।

बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए ।

घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् । दुर्घटनामा घाइते भएका पाँच जनाकै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं लैजाने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस