माओवादी जनयुद्ध लागेर जीवन बर्वाद पार्नेहरुको सत्य कथालाई प्रकाश सपूतले यसरी भिडियोमा उतारे

कलाकार प्रकाश सपुतले ‘पीर’ गीत सार्वजनिक गरेका छन्। यो गीत परिवर्तनका लागि लड्नेहरु जसले युद्ध त लडे तर आफ्नो अवस्था परिवर्तन गर्न सकेनन्,उनीहरुको लडाइँ ‘दुई छाक’ खाना र सामान्य जनजीवनको संघर्षमा कसरी सीमित रहिरह्यो भन्नेमा केन्द्रित रहेको छ।

सन् २००७ मा संयुक्त राष्ट्रसंघले गरेको माओवादी लडाकु प्रमाणीकरणका क्रममा झण्डै ४ हजार जनालाई अयोग्य घोषित गरिएको थियो। जसमध्ये झण्डै ३ हजार जना नाबालिग ठहरिएका थिए।

पुन:स्थापित गराइने अयोग्य माओवादी लडाकुहरुको ६४ प्रकारका व्यवसायिक तालिमहरु लिन पाउने प्रस्ताव पनि राष्ट्रसंघीय कार्ययोजनामा गरिएको थियो।

युद्धमा होमिएका लडाकुहरु युद्धबिरामपछि नकारात्मक असर भोगिरहेको कुरालाई यो गीतले प्रस्तुत गरेको छ।

गीतमा लडाइँको नकारात्मक असर भोगिरहेका एक जोडीले जीवनयापनको लागि गरेको संघर्ष देखाइएको छ। भिडियो असाध्यै मार्मिक लाग्छ।

गीतमा प्रकाश सपुतको शब्द र संगीत रहेको छ भने स्वरमा उनलाई सम्झना भण्डारीले साथ दिएकी छन्। प्रिज्मा स्टुडियोमा रेकर्ड भएको यो गीतको मिक्सिङ, मास्टरिङको काम श्यामश्वेत रसाइलीले गरेका छन्। गीतमा प्रयोग भएको बासुरी रत्न विकेले बजाएका हुन्। सारङ्गी हेमन्त कान्छा रसाइलीले बजाएका छन्। गीतलाई डीबी लोहनी र किरण किकेले रेकर्ड गरेका हुन्।

यो गीतको भिडियोको निर्देशन र कथा प्रकाश सपुतकै रहेको छ। देबेन्द्र बब्लुले यो भिडियोको सिर्जनात्मक निर्देशन गरेका छन्।

भिडियोमा प्रकाश सपुत, सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन ‘केशरी’, पुष्पा अवस्थी, विशाल घिमिरेको साथमा बाल कलाकार प्रविष्टी विकेको अभिनय रहेको छ। भिडियो प्रवीन भट्टको विपि फिल्म नेपालमा सम्पादन भएको हो।

प्रतिक्रिया दिनुहोस