भारतमा आजबाट फेरि बढ्यो इन्धनको मूल्य, नेपालमा पनि बढ्न सक्ने अनुमान

काठमाडौं, भारतीय तेल मार्केटिङ कम्पनीहरुले शुक्रबार फेरि मूल्य बढाएका छन्। भारतमा पछिल्लो दुई दिन ८० पैसा भारुले बढेको पेट्रोल र डिजेलको मूल्य शुक्रवार पनि बढेको छ । भारतीय बजारमा शुक्रवार बिहान ६ बजेदेखि ८० पैसा भारू मूल्यवृद्धि भएको हो ।

दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८० पैसाले बढेको छ।चार महिनाभन्दा लामो समयपछि मंगलबार पहिलोपटक पेट्रोल र डिजेलको मूल्य बढेपछि लगातार भाउ उकालो लागिरहेको हो। पछिल्लो चार दिनमा पेट्रोल र डिजेलको मूल्य भारु २.४० ले बढेको छ।

यो बढेको मूल्यसँगै भारतको राजधानी दिल्लीमा पेट्रोलको भाउ प्रतिलिट भारु ९७.८१ र डिजेलको भारु ८९.०७ पुगेको छ। मुम्बईमा पेट्रोलको प्रतिलिटर ८४ पैसाले बढेको छ र योसँगै नयाँ मूल्य भारु ११२.५१ प्रतिलिटर भएको छ। चेन्नईमा पनि भाउ ७६ पैसाले बढेर भारु १०३.६७ प्रतिलिटर पुगेको छ।

भारत पेट्रोल र डिजेलको मूल्य राज्यअनुसार फरक हुन्छ किनभने स्थानीय कर दरहरु राज्यअनुसार फरक हुन्छन्। मुडिज इन्भेस्टर्स सर्भिसको एक रिपोर्टअनुसार भारतका प्रमुख तेल कम्पनीहरु आईओसी, बीपीसीएल र एचपीसीएलले नोभेम्बर र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भए पनि पेट्रोल र डिजेलको मूल्य बढ्न नदिने बताएका थिए।

जसका कारण कम्पनीहरुले करिब २ अर्ब २५ करोड अमेरिकी डलर घाटा व्यहोरेका छन्। अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको असर नेपालमा पनि परिरहेको छ । नेपालमा पनि नेपाल आयल निगमले मूल्य बढाउन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस