ओलीले गरे विद्युतीय बसको उद्घाटन , बस चढेर मणिग्रामदेखि लुम्बिनीसम्म पुगे

जापानले अनुदानमा उपलब्ध गराएका दुई दर्जन बढी विद्युतीय बस र कार वर्षौंदेखि लुम्बिनीमा थन्किरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजी कम्पनीले सञ्चालनमा ल्याएका विद्युतीय बसको उद्घाटन गरेका छन्।

रूपन्देही र कपिलवस्तुमा आयोजित पार्टी प्रवेश, तिलोत्तमा भ्युटावर उद्घाटन लगायतका कार्यक्रमका लागि सोमबार रूपन्देही आएका ओलीले मंगलबार विद्युतीय बसको उद्घाटन गरेका हुन्।

सुन्दर यातायात प्रालि बुटवलले सञ्चालनमा ल्याएको विद्युतीय सार्वजनिक बसको उद्घाटन गर्दै ओली त्यही बस चढेर मणिग्रामदेखि भैरहवा हुँदै लुम्बिनी पुगेका थिए। लुम्बिनीमा आयोजित पार्टी प्रवेश कार्यक्रम सकेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सम्म पुगेका थिए।

ओलीसँगै एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, प्रदेश सभा सदस्य लीला गिरी, भूमिश्वर ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी पनि ओलीसँगै गाडी चढेर लुम्बिनी पुगेका थिए।

सुन्दर यातायात प्रालिका सञ्चालक डिआर घिमिरेले एमाले अध्यक्ष ओली झण्डै ५५ किलोमिटरको यात्रा विद्युतीय बसमा चढेर गरेको बताए।

यात्राको क्रममा ओलीले रूपन्देहीको सडक विद्युतीय बस चल्ने जस्तै फराकिलो र चिल्ला रहेको भन्दै विद्युतीय गाडी सञ्चालनलाई प्रोत्साहन गर्नुपर्ने बताए। अब प्रदूषणरहित बस सञ्चालन गरी व्यापार घाटा कम गर्न सकिने ओलीको भनाइ छ।

प्रालिका सञ्चालक घिमिरेले ५० सिट क्षमताका विद्युतीय बस सार्वजनिक बसको रूपमा नेपालमै पहिलो पटक भित्र्याइएको बताए।

प्रतिक्रिया दिनुहोस