पार्टीको निर्णय सबैले मान्नुपर्छ – महामन्त्री थापा

सिन्धुपाल्चोक चैत २०नेपाली महामन्त्री गगन थापाले आउँदो चुनावमा तालमेलबारे पार्टीभित्र फरक मत राखे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।

इन्द्रावती गाउँपालिकाको गौरवको योजना इन्द्रावती रंगशाला र गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा उनले भने, “तालमेल गर्नेबारे पार्टीमा निरन्तर छलफल गर्दै छौँ ।”

इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन छ करोड रुपैयाँमा तयार भएको हो भने इन्द्रावती रंगीशाला तीन करोड ७९ लाख रुपैयाँमा १८ महिनामा तयार भएको हो । रंगशालाको प्यारापिटमा एक हजार ४०० व्यक्ति अट्ने क्षमता रहेको छ ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले आफ्नो कार्यकालमा सक्दो विकासको प्रयास गरेको बताए । इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले इन्द्रावतीले विकासको फड्को मारेको दाबी गरे । रासस

यसपटक त हँसिया हथौडामा भोट हाल भनौला, त्यसपछिका चुनावमा रुखमा भोट हाल भनेर कसरी भन्ने ?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको गठबन्धनले मूर्तरूप नलिने बताएका छन्। विचार नै नमिल्ने पार्टीहरूबीच गठबन्धन भएकोले नतिजा सोचेजस्तो नआउने उनको भनाइ छ।

‘निर्णय कार्यान्वयन गर्न अत्यन्तै गाह्रो छ । विचारै नमिल्ने पार्टीसँग तालमेल गरेर जानुपरेको छ। गर्ने त भनिदियो तर कसरी ?,’ उनले भने, ‘अघिल्लो पटक जुन जुन पार्टीले जितेको छ, त्यो ठाउँमा सोही पार्टीलाई दिने र एमालेले जितेको ठाउँमा दोस्रो पार्टीलाई दिने प्रस्ताव प्रचण्डजीले गर्नु भो। पाँच सय ८५ पालिका कांग्रेसलाई दिन सक्नुहुन्छ ?’

प्रचण्डले भरतपुरलाई मात्रै हेरेर गठबन्धन प्रस्ताव गरेको उनको आरोप छ।

‘तीन सय १९ पालिकामा हामी दोस्रो भएका छौं । दुई सय ६६ मा हामी पहिलो भएका छौं। पहिलो र दोस्रोसहित लिँदा कांग्रेसको भागमा पाँच सय ८५ पालिका पर्छ। भरतपुरलाई दिमागमा राखेर मात्रै बहस भइरहेको छ,’ उनी भन्छन्, ‘उनको प्रस्तावअनुसारको पालिका दिन साँच्चै तयार हुनुहुन्छ ? त्यो गर्न सक्नुहुन्छ ?’ सरकार गठनको बेला गरिएको गठबन्धन चुनावसम्म लैजाँदा नकारात्मक असर पर्ने उनको तर्क छ।

‘दुई वटा धारजस्तो बन्यो । एउटा धार गठबन्धन गर्ने र अर्को गठबन्धन नगर्ने। हिजो गठबन्धन किन गर्‍यौंभन्दा तत्कालीन सरकारले संविधान कुल्चिएर अगाडी बढ्न थाल्यो ।

नेपाली कांग्रेसको नेतृत्वमा अरू दल सामेल भए,’ कोइराला अघि भन्छन्, ‘त्यो गठबन्धन निर्वाचनसम्म जानुपर्छ भन्ने तर्क छ। सरकार सञ्चालन गर्ने गठबन्धन एउटा हो, निर्वाचनमा तालमेल गर्नु अर्को हो भन्ने बुझ्नु जरुरी छ । त्यो नबुझीकन गठबन्धनलाई निरन्तरता दिनु अलि मिल्दैन।’

पोखरामा प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले शनिवार अघिल्लो निर्वाचनपछि ३६ लाख नयाँ मतदाता थपिएका भन्दै उनीहरूका लागि पनि सोचेर निर्णय लिन आग्रह गरे।

‘पहिलो पटक उनीहरूले मत दिँदै छन् । उनीहरूलाई हँसिया हथौडामा भोट हाल भन्यौँ भने आमनिर्वाचन र त्यसपछिका चुनावमा रुखमा मत हाल भनेर कसरी भन्ने ? यो गम्भीर विषय हो,’ उनले भने, ‘यो कुरालाई कसरी म्यानेज गर्ने ?

तालमेल गर्ने कुरालाई म खराब भन्दिनँ। तर, यो कुरालाई पनि हामीले मध्यनजर गर्नुपर्छ । एकातिर घरघर जाऔँ कांग्रेस जिताऔँ भनेका छौं । अर्कोतिर माओवादीलाई भोट हाल भनेका छौं। यो त मिलेन नि।’

प्रतिक्रिया दिनुहोस