थुनछेक बहसका लागि तनहुँ कारागारबाट नवलपुर पुगे पल शाह !

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएको नायक पल शाहलाई मंगलबार विहान ७ बजे नवलपुर लगिएको छ । थुनछेक बहसका लागि कारागारको टोलीले उनलाई तनहुँ कारागारबाट नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिएका छन् । नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको प्रमुख नारायण अधिकारीले बताएका छन् । ‘अदालतको प्रक्रियाअनुसार थुनछेक बहस सकिएपछि फेरी उनलाई तनहुँ कारागार ल्याइनेछ।

शाहलाई तनहुँबाट झिकाइएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले पुष्टि गरेका छन् । ‘केहीबेर अगाडि आउनुभएको छ । आजै बयान लिएर सकियो भने थुनछेक बहस सुरु हुन्छ ’उनले भनेका छन्। क्षेत्रीका अनुसार गोला थुतेर कसको इजालसमा पर्छ भन्ने पनि टुंगो लागिसकेको छैन । ‘गोला थुतेर कसको इजालसमा पर्छ । त्यसपछि इजलास अधिकृतले बयान लिएर सकेपछि थुनछेक बहस सुरु हुनेछ’, उनले बताए । ३ चैतमा सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिएका छन्।

जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् । उच्च अदालतले निवदेन उपर पहिलो सुनुवाई गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ । सुरुमा तनहुँ प्रहरीमा उजुरी परे पनि फेरि पलविरुद्ध नवलपुरमा पनि उजुरी परेको थियो।

प्रतिक्रिया दिनुहोस