विव्यास : दलहरूकाे शक्ति परीक्षण गर्ने थलाे बन्दै

खोटाङका सामुदायिक विद्यालयको व्यवस्थापन समिति राजनैतिक दलको शक्ति परीक्षण गर्ने थलाे बन्दै गएको छ । व्यवस्थापन समिति चयनका क्रममा हुने निर्वाचनलाई विशेषगरी कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले शक्ति परीक्षणको थलाे बनाउँन थालेका हुन् ।

सामुदायिक विद्यालयमा स्थानीय तह निर्वाचनकै झल्को दिनेगरी व्यवस्थापन समितिको निर्वाचन हुने गरेको छ । पछिल्लो समय गठबन्धन दलले एउटा प्यानल र एमालेले अलग्गै प्यानल खडा गरेर अभिभावकलाई भिडाउने गरेको छ । निर्वाचन परिणामलाई दलका नेताले दलीय निर्वाचनकै परिणामका रुपमा लिने गरेका छन् । प्यानलले जितेको अवस्थामा नेताहरूले नै सामाजिक सञ्जालमा खुसी प्रकट गर्ने र बधाई दिने गरेको देख्न सकिन्छ ।

दुई साताको अन्तरालमा जिल्लाको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित त्रिभुवन मावि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पञ्चकन्य माबिमा गठबन्धन र एमालेले छुट्टाछुट्टै प्यानल खडा गरेर व्यवस्थापन समितिको निर्वाचन गराएको छ ।

पञ्चकन्य माविको व्यवस्थापन समितिका लागि सोमबार दलीय आधारमा निर्वाचन भयाे । निर्वाचनमा एमाले समर्थितहरूकाे प्यानलै विजयी भएका छन् । एमालेले उठाएको चन्द्रकला भुजेलले ९४ मत, मन्दिरा बिकले ९१ मत, गणेश कार्कीले ८६ मत र डोरनिधि खत्रीले ८५ मत पाएका छन् ।

गठबन्धनकातर्फबाट उठाइएका सरस्वती श्रेष्ठले ६० मत, शर्मिला बिकले ७१ मत, पर्शुराम राईले ७४ मत र तिर्थ भट्टराईले ७३ मत पाएका छन् । कुल एक सय ६९ मत खसेकामा १५ मत बदर भयाे । त्रिभुवन मावि ऐसेलुखर्कको व्यवस्थापन समितिको ५ चैतमा भएको निर्वाचनमा पनि एमालेका उम्मेद्वारनै विजयी बनेका थिए ।

दुई माविको व्यवस्थापन समितिको पछिल्लो निर्वाचन परिणामलाई एमालेका नेता तथा कार्यकर्ताले गठबन्धनमाथिको विजयका रुपमा खुसी मनाइरहेका छन् । उनीहरूले आसन्न स्थानीय तहको निर्वाचनमा समेत विद्यालय व्यवस्थापन समितिकै किसिमले निर्वाचन नतिजा आउने अर्थ लगाइरहेका छन् । तर शैक्षिक संस्थाजस्तो शान्तिक्षेत्रमा दलीय आधारमा निर्वाचन गरेर व्यवस्थापन समिति बनाउनुपर्ने अवस्था दुःखद् भएको अभिभावक बताउँछन् ।

आफ्नो शक्ति परीक्षण तथा व्यवस्थापन समिति, विद्यालय र सिंगो वडामा आफ्नो ‘पकड’ जमाउने भित्री स्वार्थ बोकेका दलहरुको कारण विद्यालयमा अनपेक्षित निर्वाचन हुने गरेको छ । तर, व्यवस्थापन समिति गठनकाक्रममा तँछाड–मछाड गर्दै लड्ने र लडाउनेको क्रियासिलता शैक्षिक गुणस्तर वृद्धिमा भने शुन्य प्रायः हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस