शिक्षा विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रिए शिक्षकहरू

विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरूले राजधानी काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेका छन् । विभिन्न जिल्लाबाट शिक्षा विधेयकको विरोध गर्न काठमाडौं उत्रिएका शिक्षक, विद्यालयका कर्मचारीहरुले सडक आन्दोलन सुरू गरेका हुन् ।

नेपाल शिक्षक महासंघको आव्हानमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म अहिले मार्चपास भइरहेको छ । राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारीले विधेयकप्रति विभिन्न १८ बुँदे असहमति राखेका छन् । सरुवा बढुवा, दरबन्दीलगायतका मुद्दा साथै स्थानीय तह मातहत नबस्ने उनीहरुको माग छ ।
शिक्षकहरूको सडक आन्दोलनले काठमाडौंको सडक अस्तव्यस्त भएको छ । ट्राफिकलाई सवारीसाधन सुचारु गर्न हम्मेहम्मे परिरहेको छ ।
नेपाल शिक्षक महासंघले सामुदायिक विद्यालयमा वर्षौंदेखि कार्यरत शिक्षक र कर्माचारीको पेसागत सम्मान र सुरक्षाको सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
महासंघले सामुदायिक विद्यालयका शिक्षक कर्मचारीका माग र हकहितको प्रतिकूल हुनेगरी सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक संसद्‌मा पेस गरेको भन्दै असन्तुष्टि जनाएका छन् । विधेयकले स्थायी, अस्थायी, करार, राहत, साबिक उमाविलगायत सबै प्रकारका शिक्षक तथा कर्मचारीका मुद्दा सम्बोधन गर्न नसकेको भन्दै महासंघले संशोधन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस