देवी ज्ञवालीले तयार पारेको लालपुर्जा रेनुका बाले बाँडेछन्ः महेश बस्नेत

चितवन । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सत्ता गठबन्धनका नेताहरू केपी ओली नेतृत्वको सरकारले गरेका कामको जस लिने होडबाजीमा रहेको आरोप लगाएका छन् । ललितपुरको महालक्ष्मीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले जनकपुर जयनगर रेलवेदेखि विभिन्न विकास आयोजनाहरू ओली सरकारले गरेको र अहिले उद्घाटनमा प्रधानमन्त्री देउवा व्यस्त रहेको बताए ।

बस्नेतले देवी ज्ञवाली नेतृत्वको भूमि आयोगले सुकुम्बासीलाई जग्गा वितरण गर्न लाग्दा आयोग खारेज गरेको भन्दै ज्ञवालीले तयार पारेका लालपुर्जा प्रचण्डले बाँड्न थालेको बताए । बस्नेतले भने, ‘अस्ति भरतपुरतिर प्रचण्डले ३९ जना सुकुम्बासीलाई धनीपुर्जा बाँडेको सुनियो । देवी ज्ञवालीले तयार पारेको लालपुर्जा भरतपुरमा गएर रेनुका बाले बाँडेछन् ।’

बस्नेतले ओली सरकारले बनाएका आयोजना उद्घाटन गर्दै सत्ताधारीहरूले जस लिन खोजेको भन्दै गठबन्धनका नेताहरू आफन्त नियुक्तिमा व्यस्त रहेको आरोप लगाए ।

भरतपुरको मेयरमा गठबन्धनबाट रेणु नै उम्मेदवार, कांग्रेसको च्याप्टर क्लोज

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको तयारीमा रहेका सत्तारुढ गठबन्धनमा तालमेलको मापदण्डबारे सहमति जुटेसँगै भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रकै भागमा पर्ने निश्चित भएको छ ।

माओवादी केन्द्रले भरतपुरमा वर्तमान मेयर रेणु दाहाललाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै चितवन कांग्रेसका नेता कार्यकर्ताहरुले विद्रोहको चेतावनी दिएपनि गठबन्धन नेतृत्वले त्यसलाई नजरअन्दाज गरेको छ ।

गठबन्धनका बैठकहरुमा नियमित सहभागी नेताहरुका अनुसार भरतपुर महानगरको मेयर माओवादीले नै राख्ने निश्चित भइसकेको छ । तल्लो तहमा जति नै विरोध भएपनि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भरतपुरमा रेणुलाई नै पुनः मेयर बनाउने सहमति बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस