केही दलले अपमानपूर्ण व्यवहार गरे, एक्लै चुनावी तयारी थालौँः माधव नेपाल

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्रकै केही दलले आफूहरुलाई अपमानपूर्ण व्यवहार गरेको गुनासो गरेका छन्।

समाजवादीको सम्पर्क समन्वय कमिटीको कार्यक्रमलाई शनिबार सम्बोधनका क्रममा नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न पनि चेतावनी दिएका छन्।

‘हाम्रै बलका कारण केपी ओली सत्ताको सगरमाथाबाट भुइँमा पछारिएको कसैले नभुलौँ’, उनले अगाडि भने।

उनले आगामी वैशाख ३० गते हुने चुनावका क्रममा गठबन्धनबीच यथार्थ शक्ति पहिचान गरेर सिट बाँडिनुपर्ने पनि तर्क गरे।

नेपालले सत्ता गठबन्धनमा सहमति हुन नसक्ने पनि संकेत गरे। उनले त्यस्तो अवस्थामा एक्लै चुनावमा जाने गरी तयारी थाल्न पनि निर्देशन दिएका छन्।

शुक्रबार मात्रै गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी केन्द्रीय कार्यालयको बैठकलाई सम्बोधनका क्रममा नेपाल नेतृत्वको पार्टीले हैसियतभन्दा ठूलो भाग खोजेको बताएका थिए।

उनले एकीकृत समाजवादी अध्यक्ष नेपालले आफू एमालेमै रहेको जस्तो ठानेर धेरै भाग खोज्दा गठबन्धनमा सिट विभाजनका लागि कठिन भएको बताएका थिए।

जनता समाजवादीले पनि स्थानीय चुनावमा धेरै स्थान खोज्दा मिलाउन समस्या भएको दाहालले बताएका थिए।

प्रतिक्रिया दिनुहोस