मलाई प्रचण्ड परिवारसँग मात्र जोडेर हेर्नु अन्यायपूर्ण – सिर्जना त्रिपाठी

पोखरा बैसाख :माओवादी केन्द्रबाट पोखरा उपमहानगरपालिकाको उपमयेर उम्मेदवारमा सिफारिस सिर्जना त्रिपाठी अहिले चर्चामा छिन्। उनी माओवादी केन्द्र, गण्डकी प्रदेश सदस्य हुन्।

तर उनी पार्टीको पदले कमै चिनिन्छिन्, ससुरा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नामले चर्चामा आउँछिन्। जुन उनलाई फिटिक्कै मन परेको छैन। बर्दियामा जन्मेकी त्रिपाठी, लामो समयदेखि पोखरामा बसाइँसराइ गरेको माइती परिवारसँग छिन्।

अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालसँग विवाह गर्नु अघिदेखि नै आफ्नो परिवारै राजनीतिमा होमिएकाले रगतमै राजनीति रहेको उनी बताउँछिन्। नेपालखबरसँगको कुराकानीमा त्रिपाठीले भनिन्, ‘मलाई प्रचण्ड परिवारसँग मात्र जोडेर हेरिन्छ, त्यो अन्यायपूर्ण हो।’

सत्ता गठबन्धनभित्र व्यापक चर्चामा रहेको पोखरा महानगरमा प्रचण्डकै बुहारी त्रिपाठी समेतलाई पार्टी कमिटीले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस गरेपछि सामाजिक सञ्जालमा टिप्पणी सुरु भएको छ।

माओवादी केन्द्रले उपमेयर पदमा उम्मेदवार बनाउन सिफारिस गरेपछि त्रिपाठीसँग गरिएको कुराकानीः

नेकपा माओवादी केन्द्रले यहाँलाई पोखरा महानगरपालिकाको उपमेयर उम्मेदवारीका लागि सिफारिस गरेको छ, टिकट पाउन कस्तो लबिङ गरिरहनुभएको छ?

लबिङ मेरो खासै त्यस्तो केही छैन। आज (सोमबार) बसेको पार्टीको महानगर कमिटीको बैठकले सर्वसम्मत रूपमा प्रदेश कमिटीलाई ३ जनाको नाम सिफारिस गरेको छ। मोटामोटी हिसाबमा ६ वटा महानगरपालिकामध्ये बाहिर चर्चामा आएको हल्ला छ– पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीले पाएको भन्ने तर आधिकारिक रूपमा त आइसकेको छैन। कुन महानगर लिने र कुन छाड्ने भन्ने विषयमा केन्द्रमा पनि छलफल भइरहेको छ। पोखराको हकमा माओवादी केन्द्रले उपमेयर पाउँदा मेरो स्वाभाविक दाबी रहन्छ।

उपमेयरका लागि आफूलाई योग्य बनाउन तपाईं कहिलेदेखि पूर्णकालीन राजनीतिमा लाग्नुभयो?

खास मेरो जन्म बर्दियामा भएको हो। बर्दिया यस्तो जिल्ला हो, जहाँ (द्वन्द्वकालमा) बेपत्ता पारिएका २ सय जना साथी अझै बेखबर छन्। बर्दिया– माओवादी आन्दोलनका लागि रुकुम र रोल्पाजस्तै उर्वर भूमि हो,

जसलाई जनयुद्धको उद्गम थलो पनि मानिन्छ। मेरो परिवार जनयुद्धको बेलादेखि नै बर्दियाबाट आन्दोलनमा सहभागी भएको थियो। त्यसकारणले पनि म राजनीतिमा आएको हुँ। तर मलाई प्रचण्ड परिवारसँग मात्र जोडेर हेरिन्छ, त्यो मेरा लागि अन्यायपूर्ण परिभाषा हो भन्ने म ठान्छु। यो कुरामा तपाईंहरू पनि प्रस्ट हुनुपर्छ।

बर्दियाबाट हामी ०५८ सालमा यहाँ (पोखरा) विस्थापित भयौं। यहाँ विस्थापित हुनुको कारण पनि जनयुद्ध नै थियो। निरन्तर मेरो दिमागले भ्याएसम्म, मेरो विचारले पुगेसम्म विवाहपूर्व नै यहाँको जनवर्गीय संगठनहरूमा, कमिटीहरूमा जोडिएको हुन्थेँ। पछिल्लो समय पार्टीमा म प्रदेश सदस्यको हैसियतमा छु। त्यसकारण यो परिवार (प्रचण्ड परिवार) सँग जोडिनुभन्दा पहिले नै मेरो राजनीतिमा आबद्धता थियो।

तर तपाईंबारे प्रचण्डसँग जोडेरै टिप्पणी सुरु भएका छन्?
खासमा प्रचण्ड परिवारको सदस्य भन्दा मलाई गर्व नै लाग्छ। एउटा आन्दोलनको युग पुरुषको परिवारका हिसाबले म आफूलाई निकै भाग्यमानी ठान्छु। विकल्प धेरै थिए। मैले मास्टर्स पनि गरिसकेको थिएँ। अन्य ठाउँमा पनि अवसर थिए। तर मेरो इच्छा राजनीतिसँगै जोडिने भयो। मेरो रगतमा नै परिवारको राजनीति छ, मेरो बुवा पनि आन्दोलनमा हुनुहुन्थ्यो। मेरो परिवार राजनीतिमा भएकै कारण हामी सबै आफन्त, घर छाडेर विस्थापित भएका थियौं। प्रचण्ड परिवारसँग मात्र जोडेर हेर्नु मेरा लागि निकै दुःखको कुरा हो। राजनीतिमा पनि म आफू भूगोलमा नै थिएँ। काठमाडौंमा बसेर एकैचोटि यो ठाउँमा आएको भए पनि यो प्रश्न ठीक हुन्थ्यो।

प्रतिक्रिया दिनुहोस