डडेल्धुराकी एक्ली महिला मेयरमा उम्मेदवार संगीता भन्छिन्– महिलाले पनि नगर हाँक्न सक्छन्

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकाम हो अमरगढी नगरपालिका। २०७४ को स्थानीय तह निर्वाचनमा अमरगढीमा नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी भएका थियो। उपप्रमुखमा विजयी भएकी संगीता भण्डारी एकाएक चर्चामा आइन्। उनी चर्चामा आउनुको कारण थियो, कांग्रेसको गढ मानिने अमरगढीमा आफूभन्दा दोब्बर उमेरकी कांग्रेस उम्मेदवारलाई पराजित गर्नु।

उनीसँगै पराजित भएकी नेपाली कांग्रेसकी नेतृ पार्वती झुकाल यसपटक पनि कांग्रेसबाट अमरगढीको उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छन्। एमालेबाट उपप्रमुखमा निर्वाचित भण्डारी यसपटक एकीकृत समाजवादीबाट अमरगढीको मेयरको दौडमा छिन्। भण्डारी डडेल्धुरामा एक्ली मेयरकी उम्मेदवार हुन्। भण्डारीसँगै कांग्रेसका डिल्लीराज जोशी, कांग्रेस (बिपी)का हरि भट्ट, माओवादी केन्द्रका लक्ष्मण सिंह, राष्ट्रिय जनमोर्चाका पवन बिष्ट र स्वतन्त्र उम्मेदवार ललित तमोलीले मनोनयन दर्ता गरेका छन्। को हुन् संगीता ? मध्यम परिवारमा जन्मिएकी संगीता भण्डारीको जन्म अमरगढी नगरपालिका–२ डबरबाटा गाउँमा १८ पुस २०४९ मा भएको हो।

मध्यम परिवारमा जन्मिएकी भण्डारीको बाल्यकाल सानैदेखि कष्टपूर्ण बित्यो। हात समातेर हिँड्ने उमेरमा उनले आमाको साथ पाउन सकिनन्। ०५४ मा आमाको मृत्यु भएपछि परिवारको पहिलो सन्तान भएकाले पारिवारिक जिम्मेवारी उनै भण्डारीको काँधमा आयो

। त्यसपछि सुरु भए, उनका दुःखका पहाड। कष्टकर बाल्यकाल बिताउन बाध्य भण्डारीले कहिले हाँस्न पाइनन्। विभिन्न अभावका बीचमा सामान्य तरिकाले उनको पालनपोषण भयो। साँझ–बिहान के खाने, के लगाउने भन्ने समस्यामा उनका दिनहरू बिते। ‘खाने–लाउने अभावसँगै जीवनमा धेरै कठिन परिस्थिति सामना गरेँ। विगतका कठिन दिनको सम्झना कति छन् कति’, भण्डारीले सुनाइन्, ‘सानै उमेरमा ठूलो जिम्मेवारी वहन गर्नुपर्दा बाल्यकाल दुःख र पीडा बिर्सिन सकिँदो रहेनछ।’

प्रतिक्रिया दिनुहोस