यी हुन् भाग्यमानी आमा जसले आफ्नै छोराको चौरासी हेर्न पाईन

गुल्मी ।रुरुक्षेत्र गाउँपालिका वडा नं. १ च्युरेक ठाडाबाटको जम्दार टोलमा बुधबार बिहानै देखि चहल पहल छ । भएभरका छोरा बुहारी नातिनातिना पलाँति-खलाँति जम्मा भएका छन । गाउँभरि ध्यान जम्दार्नी आँबैको घरतर्फ केन्द्रित छ ।

घरभरी परिवार जम्मा हुँदा जम्दार्नी आमा खुसीले गदगद छन र कहिले नाति नातिनासँग कुरा गर्छिन । कहिले साना पलाँतिनि खेलाउँछिन । एउटा दुर्लभ दिन, एउटी आमा छोराका चौरासीपुजामा सरिक हुने यो सयोग सम्भवत अहिले सम्म सुनिएको छैन जुन संयाेग जम्दार्नी आँबैको घरमा जुटेको छ ।

“यस्ताे कर्म सबैको कहाँ हुन्छ र आमाले छोराको चौरासी गरेको यो सयोग हजारौं वर्षमा सुन्न पाईन्छ र हामीले यो अवसर देख्न पायौंँ । हामी धन्य छौँ” च्यूरेकका पण्डित पशुपति घिमिरेले भने । जम्दार्नी आँबैका जेठा छाेरा धन बहादुर सुवेदी क्षेत्रीको चौरासी पुजामा एकसय दस वर्ष पूरा गरेकी आमा ईन्द्र कुमारी सुवेदी क्षेत्रीले छाेराको दिर्घ जीवनका लागि आशिर्वाद दिईरहेको नजारा देख्न लायक थियो ।

बिक्रम सम्वत १९६९ मा च्यूरेक ठाडाबाटाका वीर बहादुर क्षेत्रीकी जेठि छोरिको रुपमा जन्मेकि इन्द्र कुमारी क्षेत्रीको विवाह पनि ठाडाबाटाकै पदम बहादुर सुवेदीसँग भएको थियाे । भारतको ९ जिआरमा भर्ति भएका जमदार्नी आँबैका बुढा फौजमा जमदारको दर्जा पाएपछि बुढा जमदार बा बने र इन्द्र कुमारीको नाम जम्दार्नी आँबै बन्यो ।

जम्दार्नी आँबैको तिनभाई छोरा बुहारी नाति नातिना पलाँति खलाँति गरि चारदर्जन परिवार छन । जेठा छोरा धन बहादुरसंग बस्दै आएकी जम्दार्नी आंबैको रेखदेख जेठि बुहारी तुल्सा सुवेदीले गर्दै आईरहेकी छन तर आमा प्रतिको जिम्मेवारी सबै छोरा बुहारी नाति नातिनाले उत्तिकै लिएका छन । छोराको चौरासीमा आँखाबाट खुसिका आँसु झार्दै जम्दार्नी आँबैले छोरालाई आशिर्वाद दिईन र भाग्यमानि छोराले एक सय दस वर्षकी आमाबाट शिर निहुर्याएर आशिर्वाद लिए ।

प्रतिक्रिया दिनुहोस