अभिनेता सौगात मल्लका फ्यानका लागि आयो खुशीको खबर

अरूको चलचित्रमा मुख्य भूमिका निर्वाह गर्दै आएका अभिनेता सौगात मल्ल अब भने निर्माता बनेका छन् । ‘स्टारकास्ट’ कलाकार समेटेर उनले आफ्नै लगानीमा ‘राधा द सेक्रेट लभ’ निर्माण गरेका हुन् ।

चलचित्रमा उनले आफू र प्रेमिका सृष्टि श्रेष्ठसँगै दयाहाङ राई, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, दिव्यदेव, बुद्धि तामाङ, प्रियंका कार्की, लोकेन्द्र लेखकलगायत कलाकार समेटेका छन् । निर्माताका थुप्रै कुरा बुझ्न पाइएको बताउ“दै उनले सोमबार राधाको तीजसम्बन्धी गीतसमेत सार्वजनिक गरेका छन् ।

आगामी १० भदौमा सौगातको फिल्म ‘राधा’सँगै ‘प्रकाश’ पनि रिलिज हुँदै छ । राजधानि दैनिकमा खबर छ । एउटै मितिमा आफ्नो फिल्मसँग ‘प्रकाश’ जुधाइएकोमा उनले केही खिन्नता प्रकट गरे । यद्यपि, दुवै फिल्मले ‘राम्रो व्यापार गर्ने’ उनको आशा छ ।

पहुँचकै कारण थोरै पैसामा पनि ‘स्टारकास्ट’ कलाकार राख्न सफल भएको सौगातको कथन छ । निर्माण क्रममा ‘निर्माताका धेरै दुःख नजिकबाट नियाल्न पाएको’ उनको अनुभव छ । ‘यही कारण विगतमा काम गर्दा मैले दुःख दिएका निर्मातासँग सामूहिक माफी चाहन्छु,’ उनले भने ।

प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रको तीजभाकाको गीत राजधानीमा सोमबार एक समारोहबीच सार्वजनिक गरिएको हो । गीतमा कालीप्रसाद बासकोटाको संगीत, सिर्जना खत्रीको रचना र सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ ।

प्रियंका कार्की र सृष्टि श्रेष्ठले नृत्य गरेको गीत फिल्मी कथाको हिस्सामध्ये एक हो ।चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । सौगातलाई फिल्मको कथा मन परेका कारण लगानी गरेको सुवर्णले कार्यक्रममा बताए । उनका अनुसार विदेश गएका श्रीमान्को पर्खाइमा रहेकी महिलाको अन्तरद्वन्द्वमा चलचित्र आधारित छ ।

प्रतिक्रिया दिनुहोस