नेपालमै छ एक रातको ५० हजार पर्ने रिसोर्ट, यस्तो छ ३ अर्ब लगानी पाँच तारे ‘काव्या’ रिसोर्ट

नगरकोटमा पाँच तारेस्तरको रिसोर्ट ‘काव्या’ आज(आइतबार) देखि औपचारिकरूपमा सञ्चालनमा आउने भएको छ। काव्या रिसोर्ट एण्ड स्पा नाममा संचालन आउन लागेको यो रिसोर्ट निर्माणमा तीन अर्ब रुपैयाँ खर्च लागेको जनाइएको छ। रिसोर्टमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, विशाल ग्रुप र दिवाकर गोल्छा कर्पको लगानी छ।

खर्च क्षमता उच्च भएका स्वदेशी-विदेशी पाहुनालाई लक्ष्य गर्दै यो यो रिसोर्ट सञ्चालनमा ल्याइएको हो। नयाँ आर्थिक वर्षको पहिलो दिन पारेर औपचारिक रूपमा सञ्चालनमा आउने भएको रिसोर्टको सफ्ट ओपनिङ भने गत असार २४ मा नै भइसकेको छ। रिसोर्टमा पुग्ने पाहुनालाई सेवा दिन सुरु भइसकेको छाया म्यानेजमेन्टका सीइ‌ओ विक्रम सिंहले बताए।

विभिन्न स्तरका २० भिल्लाहरु रहेको यो सुपर लक्जरियस रिसोर्टमा एक रात दुई दिन बसाईका लागि न्युनतम शुल्क नै ५० हजार रुपैयाँ लाग्ने उनले जानकारी दिए। ‘यो रिसोर्ट हाइ इण्ड नेपाली र विदेशी दुवै पर्यटक लक्षित हो। यसको डिजाइन नै नेपालमा नौलो छ,’ उनले भने, ‘नगरकोट पुगेर यहाँ पस्ने पाहुनाले अत्यन्त उच्चस्तरीय आतिथ्य अनुभव लिन सक्नुहुनेछ।’

२०७१ सालदेखि निर्माण सुरु गरिएको यो रिसोर्टमा व्यवस्थापन विदेशी चेन ल्याएर चलाउने योजना थियो। भूकम्प, नाकाबन्दीसँगै कोभिड-१९ को महामारीको प्रभावका कारण होटल-रेस्टुरेन्टको विदेशी चेन ल्याउने प्रयासमा प्रगति भएन। विश्वप्रख्यात होटल समूह हिल्टनअन्तर्गतको लिफ हस्पिटालिटीलाई यसको व्यवस्थापन दिन प्रक्रिया समेत अघि बढेको थियो। तर त्यो सफल हुन नसकेपछि हाल यसलाई काव्या रिसोर्ट एण्ड स्पामा रुपान्तरण गरेर संचालनमा ल्याइएको उनले बताए।

हाल यो रिसोर्टको व्यवस्थापन ठमेलको छाया समूहले गरेको छ। यो भव्य रिसोर्ट एक सय ७५ रोपनी क्षेत्रफल विस्तारित छ। यसमा योग क्षेत्र छुट्टै समावेश गरिएको छ। रिसोर्टलाई दोस्रो चरणमा विस्तार गर्दा स्पा लगायतका विभिन्न पूर्वाधारहरु बनाउने योजना। हाल दोस्रो चरणका निर्माणका लागि तयारी भइरहेको बताइएको छ।

यस रिसोर्टको सबैभन्दा आकर्षक पक्षमध्ये एक यसको डिजाइन पनि हो। बाहिरबाट हेर्दा नै नेपालमा नौलो शैलीको रहेको यो रिसोर्टको इन्टेरियर डिजाइन पनि उत्तिकै प्रिमियम छ। अमेरिकाको वासिंटनमा मुख्यालय रहेको आर्किटेक्चरल डिजाइन कम्पनी ‘म्याप’ (माथेमा एन्ड पार्टनर्स) ले यस रिसोर्टको डिजाइन गरेको हो। म्यापले नेपालमा पनि ललितपुरमा कार्यालय राखेको छ।

रिसोर्टका कोठाहरुलाई जुनियर सुइट, एउटा बेडरुम भिल्ला, डिलक्स भिल्ला, टु बेडरुम भिल्ला लगायत तीन वर्गमा विभाजन गरिएको छ। रिसोर्टले उत्कृष्ट आतिथ्य दिने उद्देश्यले प्रत्येक भिल्लामा तीन/तीनजना जनाशक्ति परिचालन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस