धनाढ्य र बुद्धिजीविबाटै स्तनपानमा हेलचेक्राइँ भयो : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीवि धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्राइँ भइरहेको बताउनुभएको छ ।

प्रसुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताउनुभएको हो । उहाँले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गर्नुभयो ।

मन्त्री खापुङले बुद्धिजीवि, धनाढ्य बस्ने बागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको बताउनुभयो । उहाँले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएकाले बच्चाको नैसर्गिक अधिकार हनन् गर्नु नहुने बताउनु भयो ।

मन्त्री खापुले शहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताउनु भयो ।

मन्त्री खापुङले कोरोनाको संक्रमण बढीरहेकाले स्वास्थ्यकर्मीलाई तयारी अवस्थमा रहन र आम नागरिकले थप सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले सप्ताहव्यापी स्तनपान कार्यक्रमलाई देशभर सफल बनाउन आवश्यक रहेको बताउनु भयो ।

सातै प्रदेशमा बेबी मिल्क बैंक स्थापना गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यसमा सबैले सहयोग गर्न र यो काम आमाको दुध खान नपाएर समस्यामा परेका बच्चाहरुको लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस