फोहोर फाल्दा स्थानीयले अवरोध गरेपछि बन्चरेडाँडामा ५ राउन्ड हवाई फायर

काठमाडौबाट फोहर फाल्न गएका ट्रकहरूलाई अवरोध पुर्‍याएपछि बन्चरेडाँडामा तनाब भएको छ ।स्थानीयले फोहर विसर्जनमा अवरोध खडा गरेपछि प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको हो ।

सोमबार बेलुका फोहोर बोकेर गएका गाडीहरूलाई अगाडि बढ्न नदिनको लागि स्थानीय युवाहरूले गुलेली प्रहार गरेका थिए ।आइतबार तीन राजनीतिक दलले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आजबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न जाने गाडी रोक्ने घोषणा गरेका थिए।

आइतबार सत्तारुढ गठबन्धनका दलहरु नेपाली कांग्रेसका धुनिवेशी नगरपालिकाका सभापति पूर्ण तामाङ, माओवादी केन्द्रका नगर अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो घोषणा गरेका थिए।

ती १७ वर्षदेखि काठमाडौं महानगरलगायत अन्य धेरै नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सीमाना सिसडोल र पछिल्लो समय बन्चरेडाँडामा अव्यवस्थित तरिकाले फाल्दै आएको भन्दै उनीहरूले आक्रोश पोखेका छन्।

प्रतिक्रिया दिनुहोस