भुटानका राजा वाङ्चुकले भारतको भ्रमण गर्दै

काठमाडौँ– भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले यही अप्रिल ३ देखि ५ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भएका छन् ।

भ्रमणमा उनका साथमा परराष्ट्र तथा बाह्य व्यापारमन्त्री डा टाण्डी दोर्जी र भुटान सरकारका वरिष्ठ अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा उनले भारतको भ्रमण गर्न लागेका हुन् । भुटानका राजाको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको लामो समयदेखिको परम्परागत संस्कृति अनुरूप हुने बताइएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय विदेशमन्त्री एस जयशंकर र वरिष्ठ अधिकारीहरूले पनि भुटानका राजासँग शिष्टाचार भेट गर्नेछन् ।

यो भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सहयोगका सम्पूर्ण आयामहरूको समीक्षा गर्न र आर्थिक र विकास सहयोगसहित घनिष्ठ द्विपक्षीय साझेदारीलाई अझ प्रगाढ बनाउन अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस