गर्भावस्थामा के गर्नु हुँदैन ?

डा आरपी चौधरी

काठमाडौँ,७ वैशाख । विवाहपछि गर्भधारण स्वाभाविक प्रक्रिया हो । तर, यसमा ध्यान दिन नसक्दा आमा र बच्चाको स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ । त्यसैले गर्भावस्थामा विशेष ख्याल गर्नुपर्ने हुन्छ । गर्भ रहेको पहिलो र दोस्रो हप्तामा भ्रूण संवेदनशील हुन्छ । त्यसवेला बच्चाको शरीरका विभिन्न भाग बन्ने चरण पनि हो ।

जस्तै– हातखुट्टा, मुटु, मिर्गाैलालगायत अंगहरूको विकास हुन्छ । यस अवधिमा भ्रूणमा असर पर्‍यो भने शरीरका भागहरू राम्रोसँग विकास हुन पाउँदैन । जसका कारण जन्मिएपछि बच्चाको स्वास्थ्यमा समस्या देखिन्छ । कतिपय अवस्थामा आमाको गर्भमा भएको बच्चाको स्वास्थ्यमा गडबडी हुन सक्छ, जसलाई कन्जमाइटल एनमेलिज पनि भनिन्छ । १८ हप्तापछि भ्रूणमा समस्या छ भने अल्ट्रासाउन्ड गरेर पत्ता लगाउन सकिन्छ ।

त्यसैले विवाह गरेपछि सन्तानको तयारी गर्ने हो भने भ्रूणको अवस्थादेखि सचेत हुनुपर्छ । यदि बच्चामा समस्या देखिएमा बच्चा र आमालाई सुरक्षित हुने गरी डेलिभरी गराउनुपर्छ । डेलिभरीपश्चात् उपचारको प्रक्रिया सुरु गर्नुपर्छ । कतिपय बच्चालाई स्वास्थ्यमा समस्या छ भने जन्मिएपछि ठीक नहुन पनि सक्छ ।

गर्भावस्थामा के गर्नुहुँदैन ?

गर्भावस्थामा आमाले धूम्रपान र मद्यपान गर्‍यो भने बच्चाको स्वास्थ्यमा असर गर्छ । त्यसैले यस्ता कुराबाट टाढा रहनुपर्छ । कुनै आमालाई गर्भ बसेको थाहा हुँदैन । त्यस्तो अवस्थामा सिटिस्क्यान गर्छन् । त्यसो गर्दा पेटमा भएको बच्चालाई असर गर्छ । आमाले आफ्नो स्वास्थ्यका लागि कुनै पनि औषधि सेवन गर्नुहुँदैन । त्यो औषधिले भ्रूणमा भएको बच्चामा असर गर्छ । टाढाको यात्रा गर्नुहुँदैन ।

समस्या र उपचार

– २०–२२ हप्तामा पेटमा भएको बच्चाको धेरै कुरा थाहा हुन्छ । यो अवधिमा बच्चामा केही समस्या छ भने अल्ट्रासाउन्ड गरेर पत्ता लाग्छ । त्यसैले बच्चामा समस्या देखिए बालशल्यचिकित्सकसँग सल्लाह लिँदा राम्रो हुन्छ ।

– नवजात शिशुमा ‘टेराटेमा’ नामक ट्युमर पनि हुन सक्छ । त्यसले क्यान्सर पनि हुन्छ । गर्भावस्थामै पत्ता लाग्यो भने क्यान्सर हुनबाट बचाउन सकिन्छ ।

– कतिपय नवजात शिशुमा मिर्गाैलामा समस्या पनि देखिन्छ । यदि गर्भावस्थामा पत्ता लाग्यो भने जन्मनेबित्तिकै मूत्रनलीमा पाइप राखेर मिर्गाैला बिग्रनबाट जोगाउन सकिन्छ ।

– कतिपय नवजात शिशुको मिर्गाैला सुन्निएको हुन्छ । त्यस्तो अवस्थामा जन्मिनेबित्तिकै उपचार गर्न सकिन्छ ।

– कतिपय नवजात शिशुको खानानली र श्वासनली जोडिन सक्छ । त्यस्तो अवस्थामा बच्चालाई दूध खुवाउँदा फोक्सोमा पुग्छ । त्यस्ता बच्चालाई तत्काल शल्यक्रिया गर्नुपर्छ ।

– कतिपय बच्चाले दिशा नगरेर पेट फुल्छ । दिशा गर्ने प्वाल नहुन पनि सक्छ । गर्भावस्थामै पत्ता लाग्यो भने जन्मिएपछि शल्यक्रिया गर्न सकिन्छ ।

– डेलिभरीपछि नवजात शिशुलाई अति नै ख्याल गर्नुपर्छ । भर्खर जन्मिएको नवजात शिशुलाई राम्रोसँग हेरचाह गरेन भने अक्सिजन कम भएर ज्यान जान सक्छ ।

– शरीरमा चिसो भएर ज्यान जान सक्छ । रक्तश्राव भएर पनि नवजात शिशुको मृत्यु हुन सक्छ । भर्खर जन्मिएको बच्चाको इनर्जी कम हुन्छ । शरीरमा ग्लुकोजको मात्रा कम भएर शक्ति पुगेको हुँदैन । ज्यान जान सक्छ ।

– गर्भधारण गर्न चाहने महिलाले करिब एक महिनाअघिदेखि भिटामिन बी कम्प्लेक्स सेवन गर्दा राम्रो हुन्छ । यसले आमाको गर्भमा रहेको शिशुको नसा तथा मस्तिष्कको विकास रोकिने सम्भावित जोखिमबाट बच्न सकिन्छ ।

(नयां पत्रीका बाट)

प्रतिक्रिया दिनुहोस