बियर खान छोडेपछि घट्यो ६० किलो तौल, मृत्युलाई जित्न सफल बेन्डिक्स भन्छन्- त्यागिदिनुस् रक्सीको लत

एजेन्सी- हङकङका एक व्यक्तिले बियर पिउने लत त्यागेर ६० किलो तौल घटाएका छन् । रोस बेन्डिक्स कुनै बेला दिनमै ६ देखि ८ गिलास बियर पिउँथे । अहिले उनले बियरलाई ‘बाइबाइ’ गरिसकेका छन् । बियर पिउने लतका कारण बेन्डिक्सको तौल निकै बढेको थियो । उनी कलेजोसम्बन्धी घातक रोग लिभर सिरोसिसबाट पनि पीडित थिए ।

सन् २०२२ मा नयाँ वर्षकै दिन उनी स्ट्रोक भएर ढले । बैठक कोठामा टीभी हेरिरहेका बेला एक्कासि ढलेका बेन्डिक्सलाई अस्पतात लैजाँदै गर्दा उनको अवस्था निकै नाजुक थियाे । पाँच दिनसम्म आईसीयूमा बसेका उनले ४२ दिनसम्म अस्पतालमै बिताए । परीक्षणपछि उनलाई लिभर सिरोसिस भएको थाहा भयो । त्यो बेला बेन्डिक्सको तौल १ सय २७ किलो थियो । अस्पतालमा रहेकै बेला उनलाई ब्लड पोइजनिङ, बारम्बार ढल्नेजस्ता समस्या देखा परे।

पेटबाट निकालियो ८ लिटर तरल पदार्थ
बेन्डिक्सलाई ‘एसाइटिस’ को पनि समस्या भएको डाक्टरले थाहा पाए । यसमा ज्यान जाने खतरा हुन्छ । तरल पदार्थ पेटमा जम्मा हुन्छ, जसबाट पेट दुखाइलगायतका समस्या पैदा हुन्छन् ।

बेन्डिक्सको पेट सर्जरी गरी ८ लिटर तरल पदार्थ निकालियो । उनको जिब्रोको पनि अपरेसन गरियो । किनकि ढलेका बेला उनले आफ्नो जिब्रो टोकेका थिए ।

साउथ चाइना मर्निङ पोस्टलाई आफ्नो कथा सुनाउँदै बेन्डिक्सले सन् २०२२ को अन्त्यसम्म जिन्दगी पूर्णतः बदलिएको बताए । बियर छोडेर र जीवनशैली सुधारेर उनले आफ्नो तौल ६० किलो घटाएका छन् । अहिले उनकाे ताैल ६७ किलो छ ।

बेन्डिक्सले भने, ‘लगातार रक्सीकाे सेवन, अस्वस्थ खानेकुरा खाने बानी, लामो समयसम्म काम गर्ने र व्यायामको कमीका कारण मेरो ताैल बढेको थियो । म दिनमा ८ गिलाससम्म बियर पिउँथेँ । र, प्रोसेस्ड फुड नै खान्थेँ । धेरै नखाए पनि मासु, करी, मसालेदार खानेकुरा मेराे राेजाइमा हुन्थे । लगातार रक्सी पिउँदा मेरो शरीरमा निकै सुगर जाँदो रहेछ ।’

किशाेरावस्थामै बियर पिउने बानी

बेन्डिक्सले बताएअनुसार, रक्सी उनको जीवनको खास हिस्सा बनेको थियो । उनले आफ्ना सौतेनी बुबा र साथीसँग मिलेर किशोरावस्थामै बियर पिउन थालेका थिए । किशोरावस्थाको उनको यो आदतले युवावस्थामा समेत निरन्तरता पायो । कामको क्रममा उनलाई हातमा बियर लिएको देखिन्थ्यो । तर, जब उनी बिमार भएर अस्पताल पुर्‍याइए, तब पहिलोपल्ट उनलाई महसुस भयो, आफ्नो सातवर्षे छोरा चार्ली र श्रीमतीसँग उनले ठीक गरिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस