छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन् : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार देशको समस्याको रुपमा रहेको बताएका छन् ।

आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा वहश कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशका भ्रष्टाचारको समस्या रहेको बताएका हुन् ।

उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्नेखालको मानक बनेको बताए । उनले पार्टी संवद्ध ट्रेड युनियन वा संगठनका नेताहरु पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको बताए ।

महासचिव विप्लवले भ्रष्टाचारको छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने बताए । सत्तारुढ र सत्ताबाहिर बसेका सबै नेताहरुलाई अर्ब रुपैयाँ भन्दा कमको चार्ज नभएको उनले बताए । उनले पार्टीका संगठनहरु भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष भएको बताए ।

उनले भने, ‘मैले आरोप लगाएको होइन नेपालका मान्छेहरु यदी छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो । उसले उसलाई लगाउछ, उसले उसलाई लगाउँछ उहाँहरुको कुरा हो । तर सबैलाई अर्ब भन्दा कमको चार्ज छैन नि । अहिले सरकारमा भएका हुन् या बाहिर बसेका हुन् । त्यो साँचो कुरा हो । नेपालको समस्या भनेको भ्रष्टाचारकै समस्या हो ।’

महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टिकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताए । उनले आफ्नो पार्टी र संगठनहरुमा भ्रष्टाचार नभएको दाबी गरे । उनले शिक्षालाई उत्पादनसँग जोडेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस