पहिलेकाे ‘त्यो श्मशानघाट र अहिलेकाे यो स्वर्गद्वार’

जनकपुरधाम । मन्दिरै मन्दिरको सहर जनकपुरधाम उपमहानगरपालिका–४ गङ्गासागर दक्षिणतर्फ भूतनाथ महादेव मन्दिर छ। उपमहानगरको मध्यभागमा अवस्थित यो मन्दिरको आँगनीमा सयौँ वर्षदेखि मान्छे जलाउने श्मशानघाट पनि छ।

वर्षौँदेखि मृत्यु र नर्कको मात्रै चित्र देखाउने त्यो श्मशानघाटलाई अचेल भने मृत्यु, जीवन र स्वर्गलाई एकै ठाउँमा साक्षात्कार गर्न मिल्ने गरी विकास गरिएको छ। त्यसैले सो स्थान श्मशान नभई स्वर्गद्वारका रूपमा पहिचान बनाउँदै छ। यसरी पहिचान बनाउन २१ वर्षभन्दा बढी समय र करिब दुई हजार मानिसको योगदान खर्चिइएको छ।

विसं २०७६ साउन २८ मा स्वर्गद्वारले कानुनी स्वरुप ग्रहण गरे पनि ‘श्मशानदेखि स्वर्गद्वार’ को यात्रा भने २१ वर्ष अघि सुरु भएको यस अभियानका अगुवा जनकपुरधाम निवासी पवनकुमार सिंघानियाको भनाइ छ। ‘विसं २०५८ मङ्सिर–पुसतिर मेरो पिताजी हरद्वारीलाल सिंघानियालाई बिसञ्चो भएपछि उहाँको अनुपस्थितिमा एकदिन मैले मलामी जानुपर्ने भयो। त्यहाँ जाँदा फोहर र दुर्गन्धले एकछिन टिक्न पनि मुस्किल भयो’, उनले स्मरण गरे, ‘फोहरको डुङ्गुर र त्यसको दुर्गन्धले मरेको लासलाई पनि गिज्याइरहेको थियो। मलामीहरूलाई सास्ती दिइरहेको थियो। त्यही दिन सङ्कल्प परे श्मशानघाटलाई यस्तै रहन दिनुहुँदैन। त्यहीबाट सुधार अभियान सुरु भयो।’

उनका अनुसार सोही वर्ष माघ १ गतेदेखि श्मशानघाट स्वच्छता अभियानले औपचारिकता पायो र माघ ७ गते नगरपालिकालाई यसबारेमा जानकारी दिइयो। ‘मृत्यु शाश्वत सत्य हो। जतिसुकै आलिसान महलमा बसे पनि एकदिन मान्छेले आउनैपर्ने अन्तिम घर यही श्मशानघाट त रहेछ! त्यसैले यो ‘नर्क’जस्तो घरलाई ‘स्वर्ग’ बनाउन लागाैँ भनेर बिन्ती गरेँ’, अभियान शुभारम्भ गर्दाको क्षण सिंघानियाले सम्झे। त्यसबेला धेरैले हाँसोको पात्र बनाएको र व्यापारिक घरानाको तन्नेरीले फोहर तथा दुर्गन्ध सफा गर्ने कुरा धेरैले नपत्याएको सन्दर्भ पनि उनको मनस्पटलमा ताजै छ।

‘मृत्यु सत्य हो, बाँकी सबै भ्रम। मृत्युलाई रोक्न त सकिँदैन तर त्यसलाई पनि सहज र मृत्यु संस्कारलाई सभ्य बनाउन सकिन्छ। हिन्दूहरूको श्मशानभन्दा मुसलमानहरूको कब्रिस्थान सफा र व्यवस्थित छ। हामी पनि व्यवस्थित गरौँभन्दा धेरैले हाँसोमा उडाए’, सिंघानिया भन्छन्, ‘जसले जे भने पनि मैले आफ्नो सङ्कल्पलाई छाडेन। विभिन्न उपाय अपनाएर आफ्नो कामलाई निरन्तरता दिएँ। धेरैले साथ पनि दिनुभयो। आजपर्यन्त यसैमा लागिरहेको छु, त्यसको परिणाम अहिले तपाईंहरूको अगाडि छ।’

प्रतिक्रिया दिनुहोस