निरा पाण्डे हत्याकाण्डः एक सातासम्म भेटिएन दोषी

कपनको सरस्वतीनगरमा पसल सञ्चालन गर्ने बाग्लुङकी निरा पाण्डे आचार्य निरु ,यही वैशाख ७ गते मातातीर्थ औंसीका दिन रगताम्ये अवस्थामा भेटिइन्। किचेन नामक आफ्नै पसलमा हत्या भएको अवस्थामा उनको शव भेटिएको हो। प्रहरीले उक्त घटनामा संलग्न दोषी पत्ता लगाउन सकेको छैन। उनको शरीरमा १८ पटकभन्दा बढी चक्कु प्रहार भएको देखिएको छ।

घटनाको ६ दिन बितिसक्दा पनि प्रहरीले केही सुराक तथा प्रमाण सार्वजनिक नगर्दा पीडित परिवार अझ मर्कामा परेको छ। कपन सरस्वतीनगरमा पीडितले हरेक दिन प्रदर्शन गरिरहेका छन्। निरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भन्दै आफन्तले प्रदर्शन गरिरहेका छन्। सरस्वती नगर क्षेत्र मंगलबार दिनभर तनावग्रस्त रह्यो। हातहातमा प्लेकार्ड बोकेका प्रदर्शनकारीले हत्यार पत्ता लगाउन, पीडितलाई न्याय दिन माग गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार प्रहरीले सक्रियतार्पुूक अनुसन्धान गरिरहेको छ। घटनामा संलग्नको केही सुराक पनि फेला परेको छ। प्रमाण पूरा भएपछि सार्वजनिक गरिने उनले बताए।

‘अनुसन्धान सही ट्रयाकमा नै छ। अलमल गरेका छैनौं। घटनास्थलमा सिसिक्यामरा नभएको र प्रत्यक्षदर्शी कोही नभएकाले अनुसन्धान केही जटिल भएको हो’, एसएसपी कार्कीले भने। सडकमा भएको सीसीईटीभीको सहयोगले घटनाको समयमा उक्त पसलमा जाने व्यक्तिको अनुसन्धान भइरहेको उनले बताए।

प्रहरीका अनुसार अर्घाखाँची माइती भएकी निरुले बाग्लुङ बडिगाड योगेस आर्चायसंग बिहे गरेकी थिइन्। उनीहरूको १० वर्षकी छोरी छन्। निरुका श्रीमानले पनि त्यहीँनजिकै इलेक्ट्रोनिक सामानको पसल सञ्चालन गर्दै आएका छन्।

घटना योजनाबद्ध र नियोजित देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले टोली नै बनाएर अनुसन्धान थालेको छ। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले केही दिनमै हत्यारा सार्वजनिक गर्ने बताए।

‘घटना योजनबद्ध प्रकृतिको छ। हत्यारा नै प्रयोग गरी घटना गराएजस्तो देखिन्छ’, उनले भने, ‘जिल्ला प्रहरी परिसर, अपराध अनुसन्धान तथा उपत्यका प्रहरी कार्यालय रानीपोखरीले समिति नै गठन गरी अनुसन्धान गरिरहेका छन्। यसका बावजुत पनि अहिलेसम्म निराहत्याका अपराधी फेला परेको छैन।’

प्रतिक्रिया दिनुहोस