निरा पाण्डेको हत्यारा पत्ता लगाउन स्थानीयको माग

काठमाडौं । काठमाडौं महानगरपालिका ६ सरस्वतीनगरका स्थानीयले पसलमा रहेकी महिलाको हत्या भएको एक साता बित्दा पनि प्रहरीले घटनामा संलग्न अपराधी पत्ता नलगाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

यही बैशाख ७ गते दिउँसो सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डे आचार्यको धारिलो हतियार प्रयोग गरेर घाइते बनाइएको थियो । पसलमा एक्लै रहेकी पाण्डेलाई पसलमा पुगेका ग्राहकले घाइते अवस्थामा फेला पारेका थिए । त्यसलगत्तै उनलाई शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटना भएको एकसाता बित्न लाग्दा पनि प्रहरीले अपराधमा संलग्न कसैलाई पक्राउ नगरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका हुन् । उनीहरुले घटनाबारे अनुसन्धान भइरहेको बताएपनि प्रहरीको कार्यशैलीप्रति आशंका व्यक्त गरेका छन् । उनीहरुले प्रहरीले गरेको ढिलासुस्तीले घटनाको ढाकछोप हुने खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस