यस्तो छ निरा हत्या काण्डको हिस्ट्री, प्रहरीको निष्कर्षमा सन्तुष्ट छैनन् आफन्त

काठमाडौं । यो अभावले सिर्जना गरेको अपराध हो वा आपराधिक मानसिकता नै यसको कारक हो ? एउटा सुनको सिक्रीको लोभमा काठमाडौं कपनकी निरा पाण्डेको हत्या भएको दावी गर्दै प्रहरीले एक आरोपीलाई आइतबार सार्वजनिक गरेको छ ।

मृतक पाण्डे र आरोपी विनोद विश्वकर्माबीच कुनै चिनजान थिएन । कुनै दुश्मनी थिएन । जानेर वा नजानेर एकले अर्काको केही बिगारिदिएका पनि थिएनन् ।

बाटोमा हिँडिरहेको बेला आफ्नै पसलमा बसेकी निराले लगाएको सुनको सिक्रीमा विनोदको आँखा पर्छ । त्यही सिक्री लुटन् उनी पसलमा पस्छन् ।

त्यसपछि एकजनाको ज्यानै जाने गरी जघन्य अपराध घटित हुन्छ । १५ हजारको जागिर, आर्थिक अभाव, खर्च नभएर भएको एउटा मोबाइल समेत बेचेर आर्थिक संकटसँग जुधिरहेका एक व्यक्तिको बाध्यताले यस्तो नकाम गर्न प्रेरित ग¥यो वा उनको मनोवृत्ती नै आपराधिक हो, त्यो अज्ञात छ ।

घटनाको १० दिनसम्म रहस्यमय बनेको यो हत्याकाण्डको सुराक प्रहरीले कसरी फेला पार्यो त ? काठमाडौंको कपनमा हत्या गरिएकी निरा पाण्डे आचार्यको हत्याको कारण एउटा सुनको सिक्री भएको रहस्य खुलेको छ ।

हत्याको १० दिनपछि ३५ वर्षीय आरोपीलाई सार्वजनिक गर्दै प्रहरीले भनेको छ – हत्यामा कुनै पुरानो रिसइबी देखिदैन ।

सिक्री लुट्न खोज्दा महिलाले प्रतिवाद गरेको र सो क्रममा आरोपीले चक्कु प्रहारी गरि ज्यान लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

वैशाख ७ मा कपन सरस्वती नगरमा भएको हत्याले आम मानिसहरुलाई समेत झस्काएको थियो । प्रष्ट देखिने गरी हत्या हुनु, केही दिनसम्म हत्याराको सुइँको समेत नपाइनु आदि कारणले मामिला पेचिलो बन्दै गएको थियो ।

यसबीच निरा हत्याका आरोपीको खोजी हुनु पर्ने माग राख्दै सडकदेखि सदनमा समेत आवाज उठेको थियो ।

३५ वर्षीया नीरा पाण्डे आचार्यलाई उनकै पसलमा झापा मेचीनगरका ३५ वर्षीय विनोद विश्वकर्माले हत्या गरेको दावी गर्दै प्रहरीले आइबार आरोपीलाई सार्वजनिक गरेको छ ।

आरोपीलाई प्रहरीले झापाबाटै पक्राउ गरी काठमाडौं ल्याएको हो । प्रहरीका अनुसार बिनोदले नीराको हत्या गरेको स्वीकार गरीसकेका छन ।

हत्या आरोपमा पक्राउ परेका बिनोदको कोठाबाट प्रहरीले रगत लागेको सर्ट, कालो एक जोर जुत्ता र एउटा झोला बरामद गरेको छ । जुन सीसीटिभी फुटेजमा देखिएको थियो ।

सुनको सिक्रीको लोभले अपराधमा डोहो¥यायो, प्रतिवादका क्रममा निराले ज्यान गुमाइन् वैशाख ७ गते मातातिर्थ औंशीको दिन ।

दिउँसो तीन बजे निरा पाण्डे आफ्नै पसलमा थिइन् । ‘नरु किचेन एन्ड गिफ्ट’ नामक पसल चलाउने निरुले लगाएको सुनको सिक्रीमा विनोद विश्वकर्मको नजर पर्छ ।

सामान किन्ने निहुँ तर उद्देश्य सिक्री लुट्ने लिएर विनोद पसलमा कोही नभएको मौका छोपेर निरुको पसलमा प्रवेश गर्छन् ।

सिसीटिभी क्यामेराले दिउँसो २ बजेर ४२ मिनेटमा विनोद पसल पसेको देखाउँछ । कुनै सामान निकाल्न भनेपछि निरु सामान खोज्न थाल्छिन् । त्यही मौका छोपेर उनले निरुलाई ढालेर सिक्री चूँडाउन खोज्छन् । निरु चिच्याउन खोजेपछि विनोदले मुख थुन्छन् ।

हातमा टोकिदिए पछि पसलमै भएको चक्कुले १५–२० पटक प्रहार गरेर उनको हत्या गरिदिन्छन् । निरुको ज्यान लिएपछि सुनको सिक्री र काउन्टरमा रहेको १२ सय रुपैयाँ लिएर फरार हुन्छन् ।

प्रहरीका अनुसार उनी त्यसपछि सुरुमा ट्याम्पो र त्यसपछि दुई मोटरसाइकल चढेर लोकन्थलीस्थित भाइको कोठा पुग्छन । लुटेको सिक्री तारकेश्वरस्थित एक सुन पसलमा पुगेर ५५ हजारमा बिक्री गर्छन् । त्यसको भोलिपल्ट धुलिखेल–बर्दिवास हुँदै झापा पुग्छन् ।

प्रहरीका अनुसार विनोद झापामा कराते सिकाउँथे । घटनाको एक हप्ता अघिमात्रै उनी काठमाडौं आएका थिए ।

केही अघि उनी ठमेलको एक क्लबमा बाउन्सर थिए । मासिक १५ हजार तलबले उनको जीवीको मुस्किल बनिरहेको थियो ।

अढाई लाख रुपैयाँको ऋण थियो भने परिवारको आर्थिक अवस्था पनि राम्रो थिएन । काठमाडौं आउँदा लोकन्थलीमा गाउँले भाइको कोठामा बस्ने गर्थे ।

प्रहरीका अनुसार सुनको सिक्री देखेपछि त्यही लुट्ने क्रममा हत्या भएको उनले स्वीकार गरेका छन् । बयानका क्रममा उनले आफ्नो दिमागमा कसरी पैसा कमाउने भन्ने प्रश्नले सधै घेरिरहने गरेको बताएका थिए ।

मृतक निरा र विनोद आपसमा परिचित थिएनन् । उनीहरुबीच कहिल्यै फोन सम्वाद पनि भएको थिएन । विनोदसँग एउटा एनलग मोबाइल सेट थियो ।

खर्च नभएपछि उनले त्यो मोबाइल पनि बेचेका थिए । हत्यापछि शंकास्पद मानिसहरु खोज्न पनि प्रहरीलाई मुस्किल परेको देखिन्छ ।

विभिन्न ठाउँका सिसीटिभी फुटेज ट्रयाक गर्दै प्रहरी आरोपीसम्म पुगेको थियो ।

यता निरुका आफन्तले भने घटना सुनियोजित भएको दावी गरेका छन् । योजनाबद्ध रुपमा कुनै गिरोहको षडयन्त्रमा निरुको हत्या भएको आफन्तले बताए पनि प्रहरीले भने घटनामा अन्य व्यक्तिहरुको संलग्नता भएको कुनै प्रमाण फेला नपरेको जनाएको छ । मृतकका एक छोरी र पति छन् ।

 

प्रतिक्रिया दिनुहोस