सप्तरीका विनोद यादव आदर्श विवाह गरेपछि चर्चामा

राजविराज । तराईमा दाइजो प्रथा व्याप्त छ । तर, सप्तरीका एक युवाले विनादाइजो आदर्श विवाह गरेका छन् । राजविराज नगरपालिका ५ का युवा विनोद यादवले विनादाइजो विवाह गरेका हुन् ।

यहाँ विनादाइजो त विवाहको कल्पनै गर्न सकिँदैन । यस्तो वेला दाइजोविना विवाह गर्नु भनेको सिंगो समाजलाई नै चुनौती दिनु हो । विनोदले विनादाइजो आदर्श विवाह गरेर दाइजो प्रथालाई चुनौती दिएका छन् ।

उनी सप्तरीका नेपाल विद्युत् प्राधिकरणबाट आवकाश प्राप्त कर्मचारी असर्फी यादवका छोरा हुन् । घरमा विवाहको कुरा चलेपछि विनादाइजो आदर्श विवाह गर्ने सहमतिमा मात्रै उनी विवाह गर्न राजी भएका थिए ।

उनले मोरङको जहदा गाउँपालिका– १ का अर्जुन यादवकी छोरी कृति यादवसँग आदर्श विवाह गरेका हुन् । कृतिका बुवा भने सामान्य किसान परिवारका हुन् ।

दुवैतर्फका परिवार शिक्षित भएका कारण उनीहरू विनादाइजो विवाहका लागि सहमत भएका थिए ।दाइजोकै कारण तय भएको विवाहसमेत नहुने, दाइजो नदिएका कारण बुहारीलाई अमानवीय

व्यवहार गरिनेजस्ता घोर निन्दनीय घटना भइरहँदा विनादाइजोको विवाह भइरहेको भनी जानकारी पाएपछि उनीहरूलाई बधाईसहित शुभकामना दिन प्रतिष्ठित व्यक्तित्वहरूसमेत वैवाहिक समारोहमा उपस्थित भए ।

प्रतिक्रिया दिनुहोस