प्रेरणादायी नारी :-दुबै हात नभएकी तर खुट्टाले लेखेरै अधिकृत बनेकी ,डिग्री होल्डर सुशीला ढकाल

सन्तान जन्मिँदा छरछिमेकमात्र होइन, गाउँभर हल्ला हुन्थ्यो । घरमा विशेष खुसियालीको माहोल छाउँथ्यो । तर, सुशिला ढकालको जन्म यस्तो अपवाद रह्यो कि घरमा खुसियाली होइन बरु चिन्ताको माहोल थपियो । चिन्ता थपिनुपर्ने कारण थियो जन्मँदै उनका दुवै हात थिएनन् । चार दशक अघि स्याङ्जाको मध्यम वर्गीय परिवारमा,तेश्रो सन्तानको रुपमा जन्मिएकी थिइन उनी ।

जन्मदै दुबै हात नभएकी उनी बाँच्लिन् भन्ने आश परिवार÷आफन्त÷छरछिमेकीले गरेनन् । तर, यी सब सोचको विपरित सुशीलाको स्वास्थ्य राम्रो हुँदै गयो, उनी जीवितै हुन्छिन् भन्ने परिवारको विश्वास बढ्दै गयो । भनिन्छ, ‘हरेक चोटले त्योभन्दा ठूलो अवसर बोकेर आएको हुन्छ । जन्मजात दुबै हात नभएका कारण गाउँलेहरु उनका पछि धेरै थरी कुरा काटे । गाउँघरमा सुनेकी थिइन्, अग्रजबाट– ‘विष नभएको सर्प । इख नभएको मान्छे काम छैन ।’जिन्दगीमा सबै चीज खानु तर हरेश नखानु सायद यही शव्दले उनलाई बचाइराख्यो । उनको इच्छा आकाक्षा र चाहनाहरुलाई मर्न दिइनन् ।

६ वर्षको उमेर पुगेपछि गाउँकै कालिका प्राविमा बुवाले भर्ना गरिदिए । उनले खुट्टाका दुई औंला प्रयोग गरेर लेख्न सुरु गरिन् । तर, त्यो त्यति सहज थिएन । स्कुलमा बेन्चमा बसेर लेख्न मिल्दैनथ्यो । पछि बुबाले एउटा फराकिलो टेबल बनाइदिनुभयो, जसका कारण उनको लेखन अलिक सहज हुन थाल्यो । खुट्टाकै औंलाले सुशीलाले अरुले जस्तै लेख्न थालिन् ।

उनले मेहनत गरिन् र अरुलाई भेट्टयाएरै छाडिन् । कालिका स्कुलबाट प्रावि तह पूरा गरिन् । निम्न माध्यमिक तह रजस्थल उच्च माविमा पढिन् । रजस्थल उच्च माध्यमिकमा पढ्दा उनले इन्द्रेणी सपना देखेकी थिइनन् । समाजका सबै एकैनासका कहाँ हुन्छन र कोही दयाका भावले हेर्दथें कोही मायालु आँखाले ।

आखिर दया र माया भन्ने चिज पनि आकाश र जमिन जत्तिकै रहेछ । केही भन्दथे “विचरीलाई त पूर्वजन्मको श्राप लागेछ ।” मुटु चिमोट्ने यस्ता वज्र धेरै पटक उनका कानमा बर्सिए । यद्यपि आफूलाई सम्हाल्दै अगाडि बढिन । यस्ता तिखा शव्दहरुले उनलाई अझैं उर्जा दिन्थ्यो केही गर्नुपर्दछ र केही बन्नुपर्दछ । हिजोका त्यही काँडाझैं घोच्ने तिखा वचनले नै हो फेरिएको छ उनको परिचय फेरिएको छ,राष्ट्रसेवक कर्मचारीका रुपमा । तर,सुशीलालो यो स्थानसम्म पुग्नका लागि गरेको संघर्ष । जिन्दगीमा खाएका हण्डर–ठक्कर बेहिसाब छ ।

दुबै हात नचले पनि रोकिएन उनको अध्ययनको गति । गाउँबाटै एसएलसी उत्र्तीण गरिन । ०५५ सालमा एसएलसी पार लगाएपछि सदरमुकाममा झरेर त्रिभुवन आदर्श क्याम्पस पढ्न थालिन् । प्रविणता प्रमाणपत्र तह अध्ययन गर्दै थिईन । उनको सोधी खोजी भयो काठमाडौं मैतीदेवीमा बसेर छात्रावास चलाइरहेकी सूर्योदय गल्र्स होस्टेल तात्कालिक वार्डेन विष्णु थापाबाट । थापाले होस्टल राखेर पढाउने र सबै खर्च आफैंले बेहोर्ने वचनवद्धता दिईन । त्यसपछि त के चाहियो मनका कुनामा साँचेर राखेको रहरथ्यो यो ।

उनी आफैं काठमाडौं भित्रिएर पढ्न चाहिन्थन् । तर अजंगको पहाड बनेर उभिएकोथ्यो आर्थिक अभाव । त्यही कारण मनका रहर मनमै गुम्साएर बसिरहेको अवस्थामा विष्णु उनका लागि ढुंगा खोज्दा देउता मिलेझैं भएर प्रक्रट भइन । पसिन काठमाडौ र डिल्लीबजार कन्या बहुमुखी क्याम्पस आईए दोस्रो वर्षमा भर्ना भइन् । २०५७ सालमा काठमाडौं आएकी सुशीलाले त्यति बेला नै कम्प्युटर सिक्न पनि थालिन् ।

विए पढ्दै गर्दा सुशीलाले नेपाल अपाङ्ग मानवअधिकार केन्द्रमा जागिर पाइन् । त्रि–चन्द्र क्याम्पस घन्टाघरबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पार लगाइन् । एलएलबी तेस्रो वर्षमा अध्ययनरत उनी स्नातकोत्तर पार लगाइन । दुबै हात नभएको मान्छे नीजि जागिर पाउने सम्भवना थिएन लहडै लहडमा भिडिन लोकसेवा आयोग । नायब सुब्बा तहमा । त्यो चुनौतीपूर्ण बाटोथ्यो ।

अब्दुल कालमको एउटा भनाई छ, सना साना लक्ष्य लिएर बाँच्नु सबैभन्दा ठूलो अपराध हो । मान्छे लक्ष्य सानो भएर कोही बर्बाद हुँदैन । बर्बाद त त्यतिबेला हुन्छ लक्ष्य पनि सानो हुन्छ र त्यो पूरा हुनथाल्छ । यही कारण हो उनले कठिन बाटो रोजीन । ०६५ सालमा लोकसेवा आयोगले आवेदन खोल्दा नायब सुब्बाका लागि परीक्षा दिइन् । अंपागको कोटामा ।

अपांगमैत्री कम्प्युटर कक्षामा भर्ना भइन् । अन्य अपांग ५ जना उनका प्रतिष्प्रर्धी थिए । सबैलाई पछि पार्दै लोकसेवामा नाम निस्कियो । २०६६ वैशाख ९ मा नासुको नियुक्ति लिइन् । उनको पहिलो पोस्टिङ आन्तरिक राजस्व कार्यालय हेटौंडा, मकवानपुरमा भयो । नियुक्ति लिए पनि त्यहाँ गएर काम गर्न असम्भव भएकाले आन्तरिक राजस्व विभागमा अनुरोध गरेपछि आठ महिना ललितपुर काम गरिन् । त्यसपछि काजमा आन्तरिक राजस्व कार्यालय लाजिम्पाट सरुवा भइन् ।

खुट्टैले कम्प्युटर सिकिन । नायब सुब्बाले गर्नेजति काम खुट्टाले नै गर्छिन् । उनी कार्यालयको कर संकलन शाखामा बस्छिन्। सफ्टवेयरमार्फत कर संकलनको काम हुन्छ। उनी कम्प्युटरमा सफ्टवेयरमा कर संकलनको काम गरिरहेकी हुन्छिन्। अफिसका सबै काम सफ्टवेयर बेस हुन्छ । इन्टरनेटबाट डाटा अपडेट गर्छिन खुट्टाले ।

राजश्व विभागबाट काम सुरु गरेकी सुशीला केही समय ठूला करदाता कार्यालय हरिहरभवनमा कार्यरत रहिन र दुई बर्षदेखि आन्तरिक राजश्व महाराजगञ्जमा कार्यरत छिन् । भनिन्छ ‘हरेक चोटले त्यो भन्दा ठूलो अवसर बोकेर आएको हुन्छ ।’ जिन्दगीमा हामी एउटा ढोका बन्द भयो भनेर रुन्छौ,चिच्याउछौं, ‘डिप्रेस’ हुन्छौं । तर हाम्रै अगाडि रहेका अरु तीनवटा खुल्ला ‘द्धार’ हामी देख्दैनौं र त चुक्छौं जीवनमा ।

प्रतिक्रिया दिनुहोस