अब विदेशबाट फर्किदा ल्यायको जुनसुकै टीभी ल्याए पनि भन्सार नलाग्ने

काठमाडौं । वैदेशिक रोजगारीमा विदेश गएर १ वर्षपछि फर्केका व्यक्तिले ल्याएको जुनसुकै आकारको टीभीमा भन्सार नलाग्ने भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ का प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट पेस गर्दै यसबारे जनाएका हुन् । यस अघिसम्म वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिहरूले ३२ इन्चीसम्मको टीभी ल्याएमा भन्सार नलाग्ने प्रावधान थियो । ३२ इन्चीभन्दा बढीको टीभी ल्याएमा भने भन्सार शुल्क तिर्नुपर्ने थियो । अब भने जुनसकै आकारको टीभी ल्याए पनि भन्सार नलाग्ने भएको हो ।

यसैगरी सरकारले आगामी आर्थिक वर्षदेखि वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाले मासिक विवरण पेस गर्नु नपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री महतले आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै साना व्यवसायीको कर तिर्ने लागत घटाउन प्रत्येक महिना मूल्य अभिवृद्धि करसम्बन्धी जानकारी पेस गर्नुपर्ने व्यवस्था हटाउने घोषणा गरेका हुन् ।

उनले उक्त व्यवस्थाले प्रत्येक महिनाको २५ गतेसम्म मूल्य अभिवृद्धि करसम्बन्धी विवरण बुझाउने व्यवस्था अन्त्य भएको जानकारी दिए । सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ । हाल हरेक महिना कर र सोको विवरण पेस गर्ने व्यवस्था थियो । कर सहभागिता लागत र समय घटाई साना करदातालाई सुविधा दिने व्यवस्था सरकारले ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस