सधैं तातो घिउ मात्रै खानुहोस् : चिसोले पाचन प्रणालीलाई हानी गर्छ, गाईको घिउ खाने कि भैंसीको ?

हाम्रो देशमा शुद्ध घिउबिना ​​खानाको परिकल्पना गर्न सकिँदैन । ब्रत–तीर्थमा घिउ हालेर खाना बनाइन्छ, भगवानको भोग तयार गर्न घिउ प्रयोग गरिन्छ । गर्भावस्थापछि घिउ खुवाइन्छ । कसैलाई कमजोरी भए पनि दालमा घ्यू मिसाएर पिउनु उपयुक्त हुन्छ । तरपनि घिउको नाम सुन्दा डराउने मानिसहरु छन् । तपाईंले प्राय: मानिसहरुले भनेको सुन्नुभएको होला – म घिउ खान्छु भनेर सोच्न पनि सक्दिन, घिउको बास्नाले नै पनि मेरो तौल बढ्न थाल्छ । आज हामी घिउ खाँदा साँच्चै तौल बढ्छ त भनेर जानकारी लिँदै छौँ । यसका साथै हामी कुन व्यक्तिले घिउ खानै हुँदैन भनेर पनि चर्चा गर्नेछौँ ।

सबैभन्दा पहिले के तपाईँलाई थाहा छ घिउ किन खानुपर्छ ? जोर्नीलाई लचिलो बनाउनका लागि, कपाल झर्न रोक्नका लागि, आँखाको ज्योति सही राख्नका लागि, लिपिड लिपिड प्रोफाइल कायम राख्न, ट्राइग्लिसराइड वृद्धि रोक्न । आयुर्वेदमा घिउको बारेमा के भनिएको छ ? आयुर्वेदका अनुसार यसलाई दैनिक खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसले खानेकुराको स्वाद मात्र बढाउँदैन यो शरीरका कोशिकाहरूको लागि पोषणको स्रोत हो ।अर्कोतर्फ, भारतको स्टेडफास्ट न्युट्रिशनका संस्थापक अमन पुरीका अनुसार घिउ धेरै हिसाबले स्वस्थकर हुन्छ । यसले हड्डी बलियो र राम्रो बनाउँछ । मानसिक स्वास्थ्यको लागि राम्रो हुन्छ । मेटाबोलिक दरमा सुधार हुन्छ ।

यदि तपाईं घिउ खानुहुन्छ भने यी पाँच फाइदा पाउनुहुनेछ: स्मरणशक्ति तेज, आँखाका लागि राम्रो, पाचनमा सुधार, एन्टी एजिङ, स्वस्थ छाला । सामान्यतया मानिसहरूलाई लाग्छ कि घिउमा बोसो मात्र हुन्छ, यसबाहेक पनि घिउ खाँदा केही फाइदा हुन्छ भने बताइदिनुस् न ? घिउमा राम्रो कोलेस्ट्रोल हुन्छ । यो हाम्रो शरीरको लागि आवश्यक छ । यसमा भिटामिन ए, डी, ई र के पनि हुन्छ, जसले शरीरलाई बलियो बनाउन मद्दत गर्छ । रक्तचाप र कोलेस्ट्रोलका बिरामीका लागि घिउ फाइदाजनक हुन्छ । यसले शरीरको मेटाबोलिजम बढाएर खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्दत गर्छ ।

घिउ खाने नियम पनि छन्, आयुर्वेदमार्फत् सिक्नुहोस् तरिका: पाचन प्रणालीका लागि: खाली पेटमा एक चम्चा घिउ कागतीको रससँग तातो पानीमा राखेर पिउनुहोस् । मेटाबोलिजममा सुधार हुन्छ । शरीरको टक्सिन निस्कन्छ । वात दोष, कफ र पित्त: वात दोष भएकाहरुले घिउमा सिरे नुन मिसाएर खानुपर्छ । पित्तको समस्या भएकाहरुले केही नमिसाई दिनदिनै घिउ खानुहोस् । कफ बढ्दा घिउमा बेसार, कालो मरिच र ल्वाङ मिसाएर खानुहोस् ।छालाको समस्या, घिउमा मोइस्चुराइजर हुन्छ । छालालाई चम्किलो बनाउँछ । हाइड्रेट राख्छ । सधैँ एक चम्चा घिउलाई नाइट क्रिमको रुपमा अनुहारमा लगाउनुहोस् । हल्का हातले मसाज गर्नुहोस् र रातभरी छोड्नुहोस् ।बिहान सफा पानीले धुनुहोस्, छाला चम्किनेछ ।

दिनहुँ घिउ खाँदा तौल बढ्दैन, यो कुरामा कत्तिको सत्यता छ ? घिउ खाँदा तौल बढ्छ पनि र घट्छ पनि । तपाईंले यसलाई कसरी उपभोग गरिरहनुभएको छ त्यसमा भर पर्छ । घिउमा स्वस्थ बोसो हुन्छ । दैनिक २–३ चम्चा घिउ खाँदा तौल घटाउन मद्दत गर्छ । घिउमा ओमेगा ३ फ्याटी एसिड र ओमेगा सिक्स पाइन्छ जसले तौल घटाउन मद्दत गर्छ । घिउले शरीरमा रहेको बोसो कोशिकालाई जम्मा गरी जलाउँछ । जसले गर्दा शरीरमा उर्जा प्राप्त हुन्छ ।

यसरी यसले तपाईंको शरीरको अतिरिक्त बोसोलाई ऊर्जामा परिवर्तन गर्छ, जसले तौल घटाउन मद्दत गर्छ ।घिउमा अत्यावश्यक एमिनो एसिड हुन्छ, जसले फ्याट कोशिकाको आकार घटाउँछ । त्यसैले यदि तपाईंको शरीरले छिट्टै बोसो जम्मा गर्छ भने घिउ खानु फाइदाजनक हुन्छ । यसबाहेक घिउमा पाइने ओमेगा थ्री फ्याटी एसिडले शरीरको बोसो घटाउन मद्दत गर्छ ।

दिनमा कति घिउ खान सकिन्छ ? आइसीएमआर अर्थात इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार सामान्य काम गर्ने मानिसले २५ ग्राम घिउ खान सक्छ । कडा परिश्रम गर्ने पुरुषले ४० ग्राम घिउ खान सक्छन् । त्यसैगरी सामान्य काम गर्ने महिलाले २० ग्राम घिउ खान सक्छिन्, मेहनत पर्ने काम गर्ने महिलाले ३० ग्राम घिउ खाएमा कुनै हानि हुँदैन । बच्चालाई दूध खुवाउने आमाले पनि ३० ग्रामसम्म घिउ खान पाउँछन् ।

कस्ता मानिसहरूले घिउ खानु हुँदैन ? तपाईंले खाइरहनुभएको खाना तपाईंको शरीर अनुसार हुनुपर्छ । जुन स्वस्थ खानेकुरा छन्, त्यो तपाईंको शरीरका लागि पनि स्वस्थ हुन्छन् नै भन्ने छैन । सही तरिकाले खाने हो भने घिउ सबैले खान सक्नुहुन्छ तर विशेष रोग लागेका व्यक्तिले यसलाई आफ्नो खानामा समावेश नगरेकै राम्रो । कस्ता व्यक्तिले खानु हुँदैन त ? अपचसम्बन्धि पुरानो समस्या छ भने, ज्वरो आउँदा विशेषगरी मौसमी रोग लाग्दा, उच्च कोलेस्ट्रोल हुँदा, मोटो वा बढी तौल भएका व्यक्तिले, लिभर सिरोसिस, हेपेटोमेगाली, हेपाटाइटिसका बिरामीले नखानुहोस् ।

गाईको घिउ खानु स्वस्थकर हो कि भैंसीको घिउ ? दुबै राम्रा छन् तर गाईको घिउ स्वास्थ्यका लागि बढी फाइदाजनक छ । गाईको घिउमा भिटामिन ए, भिटामिन डी र के, क्याल्सियम, मिनरल्स, पोटासियम र फस्फोरसका साथै एन्टिअक्सिडेन्ट पाइन्छ । यति मात्र होइन, गाईको घिउमा ओमेगा नाइन फ्याटी एसिड पनि हुन्छ । गाई र भैंसीको घिउको आफ्नै फाइदा छन् । गाईको घिउको फाइदा: तौल घटाउन सहयोगी हुन्छ, पेटको गर्मी शान्त हुन्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, माइग्रेन वा टाउको दुख्ने समस्याबाट राहत, आँखाका लागि फाइदाजनक

भैंसीको घिउका फाइदा: तौल बढाउन मद्दत गर्छ, हड्डी र मांसपेशी बलियो हुन्छ, मानसिक रोग निको पार्न मद्दत गर्छ, हाइपर टेन्सन कम गर्छ, यसले वात दोषलाई सन्तुलनमा राख्छ । कतिपयले घ्यू तातो खानुपर्छ भन्छन्, त्यसो किन ? यो बिल्कुल सही हो । घिउ सधैं तताएर खानुपर्छ । चिसो घिउ पाचन प्रणालीमा राम्ररी जान सक्दैन । त्यसैले यसलाई पचाउन गाह्रो हुन्छ । त्यसैले घिउलाई तातो तरकारी, दाल, पराठा, रोटी, आदिसँगै खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस