इलाम र झापाका भूमिहीन सुकुम्बासीलाई मन्त्री श्रेष्ठद्वारा लालपूर्जा वितरण

काठमाडौं : सरकारले भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी लालपूर्जा वितरण गरेको छ। 

बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुम्बासीलाई लालपूर्जा प्रदान गरेकी हुन्। झापाको कनकई नगरपालिकाका २९ र इलामको चुलाचुली गाउँपालिकाका २५ परिवारले पूर्जा पाए।
 
‘यो देशमा हजारौं भूमिहीन, दलित तथा सुकुम्बासी हुनुहुन्छ। उहाँहरूको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ। आज उहाँहरूलाई लालपूर्जा दिने ठाउँमा पुगेको छु,’ मन्त्री श्रेष्ठले भनिन्, ‘मैले नेतृत्व लिएर आएदेखि देशभरिका भूमिहीनलाई जमिन उपलब्ध गराउनका निम्ति स्पिडमा काम भइरहेको छ। जसको नतिजा आजदेखि देखिँदैछ।’

उनले तीन तहका सरकारको साझा कार्यक्रमको रूपमा अघि बढिरहेको भन्दै अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित नहुने बताइन्। ‘संविधानले दिएको अधिकारअनुसार अब कोही पनि नेपाली भूमिहीन हुनु पर्दैन। मेरो कार्यकालभित्रै भूमिहीनको समस्या समाधान गर्नेगरी काम गरिरहेको छु,’ उनले भनिन्। 

प्रतिक्रिया दिनुहोस