श्रीमानलाई साउदीमा मृत्युदण्ड दिएको खबर सञ्चार माध्यमबाट थाहा पाएकी माया भन्छिन्- न लास आयो, न लाहाछाप लगाएको चिठी

विवाह गरेर जम्मा ४ वर्ष सँगै बस्न पाएकी मायालाई यतिञ्जेलसम्म सँगै बसेर श्रीमान् गुमाउँदा त्यति धेरै पीडा हुँदैनथ्यो होला, जति २४ वर्ष टाढा बसेर गुमाउँदा भएको छ

पोखरा — भेट्न आएका आफन्तको जुत्ता र चप्पलका जोडी मूल ढोका बाहिर फिँजारिएका छन् । घरको भुइँ तल्लाको कोठामा बिरामी छोरा लडिबुडी गर्दै छ । दोस्रो तलामा माया पुन आफन्तले घेरिएर बसेकी छन् ।

घरि भित्तामा फोटोसपबाट जोडेर फ्रेममा सजाइएको श्रीमान् श्रीमतीको तस्बिर हेर्दै टोलाउँछिन् । घरि मन बहलाउन आएका आफन्तका कुरा सुनेर खित्का छाड्छिन् । आफ्ना श्रीमान् सन्तबहादुरलाई साउदीमा मृत्युदण्ड दिइएको खबर सुने पनि न लास भेटेकी छन्, न लाहाछाप लगाएको चिठी । किरिया गर्ने कि कुर्ने, केही मेसो पाएकी छैनन् ।

पर्वतको मोदी गाउँपालिका–४ खुइजेरीबाट माया र उनका तीन छोरा पोखरा–२७ अर्घौं झरेको ३ वर्ष भयो । बाबु परदेश जाँदा ९ महिनाको थियो कान्छो छोरा । ऊ कोरिया गएर बनाएको घर सन्तबहादुरले देख्नै पाएनन् । साहूका भेडा लुट्न आएका साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्या अभियोगमा २०५८ मा मृत्युदण्डको फैसला सुनाइएपछि उनी जेलमा थिए ।

उनीमाथिको सजाय रोयल कोर्टले समेत अनुमोदन गरेपछि गत बिहीबार फैसला कार्यान्वयन भयो । उनी कहिल्यै नफर्किने गरी अस्ताए । यता परिवारले सञ्चारमाध्यमबाट यो खबर थाहा पायो । २२ वर्ष अन्योलमै बिताएको उनको परिवार मृत्युदण्डको आधिकारिक जानकारी अझै नआउँदा थप अन्योलमा छ ।

विवाह हुँदा सन्तबहादुर २० वर्षका थिए, माया १९ की । विवाह गरेर ४ वर्षजति सँगै बसे । साउदी आउजाउ गरिरहने नजिकैको अर्को गाउँ बाजुङका एकजनाले सन्तबहादुरलाई विदेश लैजाने बताए । मायाले नै त्यतिबेला एक लाख २५ हजार रुपैयाँ ऋण खोजेर सन्तबहादुरलाई साउदी पठाइन् । साउदीबाट ४ वर्ष ८ महिनामा फर्किएर आए । घर आउँदा ऋणसम्म तिरे ।

६ महिना घरमा बिताएर उनी फेरि साउदी नै जाने भए । आमा, श्रीमती र तीन छोरालाई नवलपरासीको कावासोतीमा झारेर उनी साउदीमै फर्किए । ‘अब त्यति लामो समय बस्दिनँ, दुई वर्षमा आउन पाउँछु भनेर जानुभएको थियो,’ कुराहरू छिट्टै बिर्सने भइसकेकी मायाले आइतबार सम्झने कोसिस गर्दै भनिन्, ‘त्यति नै अन्तिम रहेछ ।’

 

प्रतिक्रिया दिनुहोस